जेठ ३० को पर्खाइ बनिरहेको फिल्म ‘मुखौटा’ का कलाकारले मोफसलको प्रचार प्रसार थालेका छन् । कलाकार सुनिल थापा, निशा अधिकारी र हर्षिका श्रेष्ठ यतिबेला ‘मुखौटा’ प्रचारको लागि मोफसल पुगेका छन् ।
.jpg)
सुनिल, निशा र हर्षिकाले आईतबार धरान शहरमा ‘मुखौटा’को प्रचार गरे । उनीहरुले त्यहाँको एक कलेजका विद्यार्थीमाझ फिल्म बारे जानकारी गराएका थिए । सोमबार हेटौंडाको कार्यक्रम सकेर यी तीन कलाकार नारायणघाट, बुटवल हुँदै पोखरा जानेछन् ।
कलाकार प्रचार प्रसारमा व्यस्त हुँदा निर्देशक समेत रहेका अर्का कलाकार अर्पण थापा फिल्मको सम्पादन कक्षमा व्यस्त छन् । सौगात मल्ल र दयाहाङ राई ‘फन्को’ फिल्मको छायाँकनमा व्यस्त हुँदा ‘मुखौटा’ को प्रचार प्रसारमा सामेल भएनन् । राजेश हमाल बिहे गरेर अष्ट्रेलियाको कार्यक्रममा हानिएका छन् । फिल्म रिलिजको संघारमा उनी नेपाल नफर्कने सम्भावना छ ।
रविन श्रेष्ठ निर्मित फिल्म ‘मुखौटा’ मा राजेश, सौगात, सुनिल, दयाहाङ, निशा, हर्षिकासँगै रविन तामाङ र प्रशान्त ताम्रकारको अभिनय रहेको छ । शहरका माफियाको कथा भन्ने ‘मुखौटा’ यतिबेला प्रतिक्षित फिल्म बनेको छ ।

