भदौ २० मा दुई हिरोका फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । अभिनेता सुवास थापाले निर्माण गरेको ‘बिर्खेलाई चिन्छस्’ र अर्का अभिनेता निरज बरालले निर्माण गरेको ‘स्टुपिड मन’ प्रदर्शन मिति पक्का गरिएका फिल्म हुन् ।

एकआपसमा फिल्म जुध्नु नयाँ समस्या हैन । तर, भदौ २० मा जुध्ने फिल्मबिच भने समस्यासँगै समानता पनि छ । ‘बिर्खेलाई चिन्छस्’ र ‘स्टुपिड मन’ दुवै फिल्मका निर्माता हिरो हुन् । पहिलो पटक फिल्म निर्माणमा हात बढाएका यी हिरोहरुको फिल्मले कस्तो व्यापार गर्ला ? अर्थात् प्रतिस्पर्धाको मैदानमा को अगाडी होला ? प्रदर्शन अगाडी यसै भन्न सकिदैन ।
एकसाथ दुई हिरोको फिल्म प्रदर्शन हुँदा कस्को फिल्मले बाजी मार्ला ? भन्ने उत्सुकता फिल्मी बजारमा पैदा भएको छ । सुवासको ‘बिर्खेलाई चिन्छस्’ सामाजिक कथावस्तुको फिल्म हो । जसलाई अराज केशवले निर्देशन गरेका छन् । निरजको ‘स्टुपिड मन’ भने पूर्ण प्रेमकथामा आधारित छ । यो फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् ।

