'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड २०७१'मा झोला फिल्म प्रतिस्पर्धामा सामेल नहुने भएको छ । पपुलर फिल्म, नव निर्देशक एवं स्क्रिप्टको उत्कृष्ट पाँच भित्र पर्न सफल ‘झोला’लाई आयोजकले हटाएको छ ।

फिल्म निर्माण युनिटले नेपाली फिल्म अवार्डप्रति नै असन्तुष्ट जनाउँदै आएको र ओफा अवार्डबाट आफ्नो सहभागिता नगराई दिन आग्रह गरेपछि 'झोला'लाई प्रतिश्पर्धाबाट हटाईएको अवार्डका निर्देशक सुरेश दर्पण पोखरेलले बताए । उनले दर्शकहरूलाई पपुलर फिल्म, नव निर्देशक र स्क्रिप्टको बिधामा एसएमएस तथा अनलाइन भोट नगर्न आग्रह गरेका छन् ।
'झोला' अवार्ड बाट बहिरिएपछि पपुलर फिल्मको बिधामा 'काली', 'होस्टल', छ एकान छ' र 'नाईं नभन्नु ल २'को मात्र प्रतिश्पर्धा हुने भएको छ । वर्ष ०७० मा प्रदर्शन भएका फिल्म मध्येबाट फिल्मले गरेको व्यवसाय, चर्चा एवं निर्माण शैलीलाई आधार बनाउँदै ओफाको दोश्रो संस्करणमा उत्कृष्ट पाँचको तालिका निकालिएको हो । यो संस्करणमा विभिन्न १७ विधामा अवार्ड दिइदैछ ।
ओफा अवार्डबाट फिल्म ‘झोला’ ले हात झिकेको प्रसंगमा फिल्मकर्मी प्रदीप कुमार उदयले असन्तुष्टी जनाउँदै भने, ‘फिल्म चाहिं नेपाली अवार्ड चाहिं अर्न्तराष्ट्रिय मात्रै थाप्ने ?’ उनले नेपाली फिल्म भएर नेपालमै आयोजना हुने अवार्डमा सहभागिता नजनाउने पक्ष राम्रो नरहेको टिप्पणी गरे । त्यस्तै अभिनेत्री करिश्मा मानन्धरले सबै फिल्मले अवार्डमा भाग लिनु पर्ने तर्क गरिन् ।

