कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘साँघुरो’ले दुई वटा अवार्ड जितेको छ । फेस्टिभलमा ‘साँघुरो’का लागि निर्देशक जोयस पाण्डेले फेस्टिभल जुरीको तर्फबाट उत्कृष्ट ‘नव प्रतिभा सर्टिफिकेट अफ रेकग्निसन’ प्राप्त गरे भने फिल्म स्वयंले रजत पदक प्राप्त गर्यो ।

सार्क संस्कृति केन्द्रको आयोजनामा मे २० देखि २५ सम्म चलेको फेस्टिभलमा गरिमा पन्तले फिल्म ‘झोला’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड भने श्रीलंकाको ‘सोभिसी विभाराना’ले प्राप्त गर्यो । फिल्मको काँस्य पदक भने माल्दिभ्सको फिल्म ‘इंगिली’ले प्राप्त गर्यो ।
सिंगापुर,मलेसिया र इरानका प्रतिनिधि रहेको निर्णायक मण्डलले ‘सोभिसी विभाराना’का निर्देशकलाई उत्कृष्ट निर्देशकको रुपमा छनौट गर्यो भने उत्कृष्ट अभिनेताको अवार्ड ‘इंगिली’का लागि इस्माइल रसिदले प्राप्त गरे । भारतबाट प्रतिनिधित्व गरेको ‘माकारा’ले छोटो फिल्ममा बाजी मार्यो ।

