Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

राजेशको बिहे मण्डपमा किन लगाइयो मिडियालाई रोक ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/25

नेपाली फिल्म क्षेत्रमा ‘सुपरस्टार’ र 'महानायक' जस्ता शब्दले सम्बोधन गरिने राजेश हमालले जेठ १० गते बिहे गरे । ‘बिहेलाई ढोंगी नाता’ भन्ने पचास बढि उमेरका राजेशले दरबारमार्ग स्थित अन्नपूर्ण होटलको कुमारी हलमा प्रेमिका मधु भट्टराईको सिउँदो सजाए ।

राजेशको विवाह विधि झन्डै तीन घण्टा जसो चलेको थियो । राजेशका आफ्नै गुरुले हिन्दु परम्परा अनुसार विवाह विधि सम्पन्न गरेका थिए । होटलको हलमै बिहेको मण्डप खडा गरिएको थियो । कपुरधारा घरबाट राजेश करिब पौने १२ बजेतिर अन्नपूर्ण होटल पुगेका थिए । कपुरधाराको घर र राजेश चढेको गाडी दुवै सिङगारिएको थिएन ।

राजेशले ढाकाको टोपी, दौरा सुरुवाल, कालो कोट र छालाको कालो जुत्ता लगाएका थिए । राजेशले भनेजस्तै उनको बिहे एकदमै सरल किसिमले सम्पन्न भयो । रगतको नाता पर्ने मात्रै राजेशको बिहेमा सहभागी भए । राजेश र मधु पक्ष गरी करिब एक सयको हाराहारीको संख्या त्यहाँ सहभागी भएको उनका एक सहयोगीले अनुमान लगाए ।

राजेश पुग्नु अगावै केही अनलाइन र छापाका पत्रकार तथा फोटोग्राफर अन्नपूर्ण होटलमा पुगी सकेका थिए । बिहे कहाँ र कसरी हुँदैछ ? भन्ने कुरा कुनै पनि मिडिया हाउसलाई औपचारिक रुपमा जानकारी गराइएको थिएन । कपुरधारा घरदेखि अन्नपूर्ण होटलसम्म आफ्नै खोजमा मिडिया पुगेको थियो ।



राजेश अगावै मिडिया अन्नपूर्ण होटल पुगेपनि बिवाह मण्डपसम्म भने मिडियालाई प्रवेश दिइएन । बिहे विधिको तस्बिर तथा भिडियो खिच्न मिडियालाई रोक लगाइयो । विवाह मण्डपको ढोकामा सुरक्षा गार्ड खटाइएको थियो । ती गार्डले ‘माथिको आदेश’ भन्दै मिडियालाई मण्डपसम्म प्रवेश गर्न दिएनन् । मिडियाकर्मीले पनि मण्डपसम्म जान जर्बजस्ती गरेनन् ।

राजेश र मधुको बिहेको तस्विर तथा भिडियो खिच्न मिडियाले झन्डै तीन घण्टा कुर्नु परेको थियो । तर केही मिडियाले भने ‘गोप्य सेटिङ’बाट दुलाहा राजेश र दुलही मधुको फोटो मण्डपबाट बाहिरसम्म ल्याउन सफल भएका थिए । राजेशको बिहेको ‘ब्रेकिङ न्यूज’ अपलोड भएको करिब आधा घण्टामै बिहेमा सहभागी एक व्यक्तिले फेसबुकको भित्ताभरी राजेशले मधुको सिउँदो रंगाएकोदेखि मण्डप घुमेकोसम्म तस्बिर अपलोड गरे । उक्त तस्बिरलाई आधार बनाउँदै अनलाइनमा समाचार बन्यो ।

तस्विर बाहिरिएपनि राजेश र मधुलाई मिडियाले कुरि नै रह्यो । तीन बज्नै लाग्दा मण्डपबाट बोलावट भयो, ‘तपाईंहरु भित्र आउनुस् ।’ सिमित व्यक्तिका बिचमा दुलाह राजेश र दुलही मधु सोफामा सँगै बसिरहेका थिए । त्यहाँ करिब २० मिनेट जसो फोटो तथा भिडियो खिच्ने काम भयो । दुलाहा बन्दा समेत राजेशलाई मिडियाले प्रश्न गर्न छोडेन ।

तपाइँलाई भेट्न हामीले धेरै कुर्नु पर्यो नि ? प्रश्नमा राजेशले हाँस्दै जवाफ दिए, ‘मैले बिहे गर्न त यत्रो वर्ष कुर्नुपर्यो तपाईंहरुले कुनु पर्दैन त ? भाउजुलाई कुन बाटोमा लैजानुहुन्छ ? भन्ने अर्को प्रश्नमा राजेशले जवाफ दिए, ‘म उनलाई मेरो प्रेरणाको श्रोत बनाउँछु । उनी घरमै बस्छिन् ।’ प्रेमिकाबाट पत्नी बनेकी मधुलाई फिल्म क्षेत्रमा नल्याउने उनको आशय थियो ।

तपाईलाई कस्तो लाग्दैछ ? भन्ने जिज्ञासामा दुलही मधुले छोटो उत्तर दिइन् ‘खुसी’ । मधुप्रति मिडियाको अर्को प्रश्न तेर्सियो । राजेश दाईको कुन पक्षले तपाईंलाई आकर्षण गर्यो ? उनले भनिदिइन्, ‘उहाँको अनुशासनले मलाई तान्यो । उहाँ अनुशासित हुनुहुन्छ ।’ सुपरस्टारको प्रेमिका र पत्नी हुँदा चाहिं कस्तो अनुभव हुँदो रहेछ ? भन्ने जिज्ञासामा मिसेस हमालले लजाउँदै भनिन्, ‘त्यो चाहिं पछि भनौंला ।’

विवाह विधि र मिडियासँगको फोटो तथा भिडियो सेसन पछि राजेश र मधु धुलिखेलको द्धारिकाज रिसोर्टतिर लागेका थिए । बिहेको पहिलो रात उनीहरुको त्यही रिसोर्टमा बित्यो । प्रदर्शनरत ‘हँसिया’ फिल्मका सिआइवी अफिसर राजेश हमालले यही जेठ १४ गते बिहेको भव्य भोज दिनेछन् । त्यसपछि उनी अष्ट्रेलियाको एक कार्यक्रममा सहभागी हुनेछन् । बिहे कहिले गर्ने भन्ने मिडियाको प्रश्नबाट मुक्त भएका राजेश र मधुको बैवाहिक सम्बन्ध दिगो रहोस्, शुभकामना !