‘हँसिया’ फिल्मको सुरुवाती व्यापार सुखद देखिएको छ । सँगै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ को व्यापार पनि चित्त बुझ्दो रहेको निर्माता एवं निर्देशक प्रशन्न पौड्यालले जानकारी गराए ।
नव अभिनेत्री हेमा श्रेष्ठको एक्सनले भरिपूर्ण ‘हँसिया’ ले प्रदर्शनको पहिलो दिन र दोश्रो दिनको व्यापार निकै राम्रो भएको निर्देशक मिलन चाम्सले बताए । ‘हँसिया’ डेव्यु निर्देशक चाम्सले भने, ‘अधिकांश दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिनु भएको छ । दर्शक प्रतिक्रिया र फिल्मको व्यापारबाट म खुसी छु ।’
जेठ १५ गते सार्वजनिक बिदाको दिन (गणतन्त्र दिवस) पनि मिलेको छ । ‘हँसिया’को शनिबारका अधिकांश सिङ्गल स्क्रिन शो हाउसफूल रहे । मल्टिप्लेक्समा भने सोचे अनुरूपले दर्शक ओईरिएनन् । दुर्गा घले निर्मित ‘हँसिया’ को लगानी झन्डै एक करोडको छ । फिल्ममा हेमासँगै अभिनेता राजेश हमाल र अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको छ ।
प्रियंका कार्की, रेश मरठ्ठा, दिवस उप्रेती, केकी अधिकारीको भूमिका रहेको फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ ले ‘हँसिया’ जति दर्शक हलमा तान्न नसकेपनि निर्देशक तथा निर्माता प्रशन्न पौड्यालले भने फिल्मको व्यापारबाट प्रशन्न छन् । नेपाल रिलिजबाटै फिल्मको लगानी उठ्ने प्रशन्नले अनुमान लगाए ।

