हाफ पेन्टसहितको 'कुल' पहिरनकासाथ सुन्धारास्थित सिने डि चिफ हलमा 'हँसिया' हेर्न पुगेका अभिनेता राजेश हमाललाई अर्का अभिनेता निखिल उप्रेतीले सफल बैबाहिक जीवनको शुभकामना दिए । खुसी हुँदै हमालले निखिललाई अंकमाल गर्दै भने, 'थ्याङ्क्यू ।'

फिल्म हेर्न हलमा छिर्नु पूर्व हमाल र उप्रेती एकछिन गफिए । बिबाहको मिति गोप्य राख्दै आएका हमालले निखिललाई पनि बिबाह हुने मिति बारे जानकारी गराएनन् । शुभकामना थापे मात्र । निखिलले पनि जान्ने चाहना राखेनन् । शुभकामना दिए मात्र ।
फिल्म हेरेर निस्के पश्चात भने हमालले उपस्थित निम्तालु दर्शक तथा सेलिब्रेटीमाझ हाँस्दै भने, 'आजै हो म यसरी कुल भएर हिड्न पाउने । भोलीदेखि त बन्धनमा पर्छु ।' औपचारिक रूपमा बिबाहको मिति नखुलाएका हमालले फिल्मीखबरसमक्ष भने, 'भोलीदेखि मेरो जीवनको नयाँ अध्याय शुरू हुँदैछ । जीवनले कस्तो मोड लिन्छ भन्ने बारे म नै अनभिज्ञ छु ।'

हिन्दू परम्परा अनुसार हमालले शनिबार प्रेमिका मधु भट्टराईको सिउँदो रंगाउँदै नयाँ जीवनको शुरूवात गर्दैछन् । बिबाहको स्थान गोप्य राखिएको हुनाले समारोहमा को-को उपस्थित हुन्छन् भन्ने बारे खबर बाहिरिएको छैन । हमालले भने आफ्ना रगतको नातेदार मात्र बिबाह समारोहमा सहभागी हुने बताउदै आएका छन् ।
५० बर्ष कटिसकेका हमालको बिबाह बारे संसारलाई चासो भईरहेका बेला सञ्चारकर्मीलाई भने समाचार संकलनमा रोक लगाईएको छ । हमालले जेठ १४ गतेको बिबाह भोजमा भने सिमित फिल्मकर्मी र सञ्चारकर्मीलाई निमन्त्रणा गर्ने भएका छन् ।

