बिहीबार साँझ राजधानीमा फिल्म 'मेरो बेस्ट फ्रेण्ड'को प्रिमियर गरियो । चावहिलस्थित एफक्यूब हलमा गरिएको प्रिमियरमा केहि फिल्मकर्मी, सञ्चारकर्मी र निर्माण युनिटको उपस्थिती थियो ।

फिल्म शुरू भएको झण्डै एक घण्टा ढिलो आएका अभिनेत्रीद्धय केकी अधिकारी र प्रियंका कार्की नै प्रिमियरको मुख्य आकर्षण बने । शो शुरू हुनुभन्दा अगाडी सञ्चारकर्मीको क्यामेरामा कैद हुन नपाएका केकी र प्रियंका मध्यान्तरमा भने क्यामेराको अगाडी घेरिए ।
फिल्म शुरू हुनु पूर्व किन आएनन् त केकी र प्रियंका ? कारण खुलाउँदै प्रियंकाले भनिन्, 'यहि प्रिमियरको लागि भनेर दमौलीदेखि काठमाण्डौ हतार हतार गरेर आयौं । आउँदा आउँदै ढिलो भयो ।' प्रिमियरकै लागि भनेर दमौलीदेखि एकरातका लागि मात्र काठमाण्डौ आएको केकीले बताईन् । 'बिहानै ९ बजे दमौली पुग्नुपर्ने आदेश छ, केकीले भनिन्, 'हतार गरेर आउँदा मेरो स्वास्थ्य ठिक भएन ।' केकी र प्रियंका 'फन्को' सुटिङ छाडेर प्रिमियरमा सहभागी हुन आएका हुन् ।

प्रिमियर समारोहमा समयमा उपस्थित नहुँदा त्यसको प्रत्यक्ष फाईदा भने उक्त फिल्ममा अभिनय नै नगरेकी अभिनेत्री बेनिशा हमाललाई भयो । 'फिल्मका हिरोइन आएनन् त्यसैले अब बेनिशाकै फोटो भएपनि बिकाउनु पर्ने भयो,' एक फोटो पत्रकार अभिनेत्रीको फोटो आफ्नो क्यामेरामा कैद गर्न नपाएपछि भुनभुनाउँदै भन्दै थिए, 'प्रिमियर भनेपछि समयमा आउनु नि । ल बेनिशाजी एक पोज दिनु त ।' केकी र प्रियंकाको अनुपस्थितीको फाइदा बेनिशाले उठाईहालिन् ।

आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'मेरो बेस्ट फ्रेण्ड'मा प्रियंका कार्की, रेश मरहठ्ठा, दिवस उप्रेती र किरण लाकौलको मुख्य भूमिका छ भने केकी अधिकारी बिशेष भूमिकामा छिन् । प्रशन्न पौडेलले निर्देशन गरेको यो फिल्मको प्रिमियर पश्चातको प्रतिक्रिया मिश्रित छ । आजै शुक्रबारबाट 'हँसिया' पनि रिलिज भएको छ ।

