जेठ ३० गते रिलिज हुन लागेको 'मुखौटा' फिल्मको टिमले प्रमोशनको लागि विभिन्न सामाजिक तथा मनोरञ्जन कार्यक्रममा सहभागिता जनाई राखेको छ । गत शनिबार मात्र तीन कार्यक्रममा सुनिल थापा, अर्पण थापा लगायत निर्माता रबिन श्रेष्ठले सहभागिता जनाएका थिए ।
भृकुटिमण्डपमा आयोजित 'एडुफेयर २०१४'देखि लिएर बिभिन्न सभा समारोह, फेसन शोहरूमा रमाईलो गर्दै फिल्म निर्माण युनिटले फिल्मको प्रचार प्रसार गरेका थिए । गत महिना मात्र सम्पन्न भएको 'टिजिआईएफ फेसन विक'मा 'मुखौटा' टिमले फिल्मको प्रोमो देखाएको थियो भने निशा अधिकारी, हर्षिका श्रेष्ठ, अर्पण थापा र सौगात मल्ल र्याम्पमा हिडेका थिए ।
यस्तै केहि साता अगाडी सम्पन्न मिस नेपालको कार्यक्रममा निशा अधिकारी र हर्षिका श्रेष्ठले फिल्मको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने प्रशान्त ताम्राकार, दयाहाङ राई, सौगात मल्ल र अर्पण थापाले 'मुखौटा'को टिसर्ट लगाएर 'क्याट वाक' गरेका थिए ।
यसरी नै आगामी इभेन्टहरूमा पनि फिल्मको प्रोमोशन गर्ने निर्माता रबिन श्रेष्ठले बताए । यसरी गरिएको प्रचार प्रसारमा दर्शकको प्रत्यक्ष सहभागीता हुने भएकाले पनि निर्माण युनिटले यस किसिमको पब्लिसिटीमा चासो देखाएको हो ।






