जमाना प्रतिस्पर्धाको छ । को भन्दा को कम भन्ने यो जमानामा अभिनेत्री निशा अधिकारीले भने प्रतिस्पर्धा गर्न आफुलाई कुनै रुची नभएको बताएकी छिन् । फिल्मीखबरसँगको विशेष कुराकानीमा निशाले भनिन्, ‘मलाई नम्बरमा कुनै होडबाजी छैन ।’
फिल्म ‘फस्ट लभ’ को सफल व्यापारसँगै अभिनेत्री निशा अधिकारीको व्यस्तता ह्वात्तै बढेको थियो । सर्वोच्च शिखर सगरमाथाको सफल आरोही निशाको भागमा पछिल्लो समय कम फिल्म छन् । तपाईको गति कम भयो नि ? भन्ने फिल्मीखबरको जिज्ञासामा अभिनेत्री अधिकारीले भनिन्, ‘कसरी मेरो गति कम भयो ? विश्वलाई चिनाउने गरी सगरमाथा चढें । वर्षमा फिल्म प्रदर्शन भइरहेकै छन् । अझै प्रदर्शन हुँन बाँकी छन् ।’
प्रियंका कार्की, नम्रता श्रेष्ठ, केकी अधिकारी र ऋचा शर्मासँग आफ्नो कुनै प्रतिस्पर्धा नै नरहेको जेठ ३० गते प्रदर्शन हुने ‘मुखौटा’की निशाले बताईन् । निशाले भनिन्, ‘नायकमा राजेश हमाललाई मानेजस्तै नायिकामा रेखा थापालाई म मान्छु । तर, प्रियंका, केकी, नम्रता र गरिमासँग मेरो कुनै प्रतिस्पर्धा छैन । फिल्ममा काम गर्नु मेरो चाहना हो । मलाई फिल्म खेलेर नाम र दाम कमाउनु छैन ।’

