फिल्म प्रचार प्रसार गर्ने काईदा फरक फरक हुन्छ । दर्शकको ध्यान तान्न फिल्मकर्मीले बेला बेला गजबको पब्लिसिटी फण्डा ल्याउने गर्दछन् । निर्देशक मिलन चाम्स पनि फरक किसिमले आफ्नो फिल्म 'हँसिया'को पब्लिसिटी गर्न थालेका छन् ।

निर्देशक चाम्सले आज (सोमबार)बाट राजधानीको सडक-सडकमा 'हँसिया'को प्रोमो र गीत देखाउने थालेका छन् । टाटा सुमोभित्र टिभी राखेर निर्देशक चाम्सले सडकमा हिड्दै गरेका दर्शकहरूलाई फिल्मको बारेमा जानकारी दिने प्रयास गरेका हुन् । 'दर्शक फिल्मसँग प्रत्यक्ष सहभागी हुन् भनेर यस्तो अभियान शुरू गरिएको हो,' निर्देशक चाम्सले भने ।

फिल्म रिलिज हुने दिनसम्म यसरी गाडीमा फिल्मको गीत तथा प्रोमो बजाउँदै शहर डुल्ने कार्यक्रम रहेको चाम्सको भनाई छ । यस्तै पब्लिसिटीको नयाँ फण्डा स्वरूप बैबाहिक बन्धनमा बाँधिन लागेका अभिनेता राजेश हमालको बिहे मिति पत्ता लगाउनेलाई चाँदीको हँसिया र राजेशसँग डिनर खाने अवसर दिईने निर्देशक चाम्सले बताए । यसका लागि 'हँसिया'को अफिसियल फेसबुक पेजको कमेन्ट बक्समा गएर राजेशको बिहे मिति भन्नुपर्ने हुन्छ ।

काठमाण्डौको १८ सहित झण्डै ६० पर्दामा एकसाथ रिलिज हुन लागेको यो फिल्म अहिले दर्शकको प्रतिक्षामा रहेको अनुमान गरिएको छ । दर्शकले कत्तिको कुरेर बसेका छन् त्यो रिलिज पश्चात थाहा हुनेछ । तर निर्देशक चाम्स भने आफ्नो फिल्मले राम्रै सफलता पाउनेमा आशावादी छन् । दुर्गा घलेले निर्माण गरेको यो फिल्ममा राजेश हमाल, हेमा श्रेष्ठ र अनुप बिक्रम शाहीको मुख्य भूमिका छ । फिल्मलाई दर्शना आर्ट्सले वितरण गर्दैछ ।

