प्रशन्न पौडेल निर्देशित फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ आउँदो शुक्रबार जेठ ९ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । फिल्मका मुख्य दुई हिरोइन प्रियंका कार्की र केकी अधिकारी भने यतिबेला 'फन्को' फिल्मको छायाँकनमा व्यस्त छन् ।
‘मेरो बेस्ट फ्रेन्ड’को प्रचार प्रसारमा हिरोइनको साथ छैन । अभिनेत्री केकी अधिकारीले फिल्मको प्रचार प्रसारमा हिड्न नपाउँदा दुःख लागेको बताइन् । पोखरामा ‘फन्को’ फिल्मको छायाँकनमा रहेकी केकीले भनिन्, ‘फिल्मको प्रदर्शन मिति ढिलो हुन गयो । जति मिलाउन खोज्दा पनि भएन ।’
हालसम्मका फिल्ममा भन्दा ‘मेरो बेस्ट फ्रेन्ड’ मा आफ्नो भिन्न भूमिका रहेको केकीले खुलाइन् । उनले भनिन्, ‘मैले फिल्ममा कल गर्लको भूमिका निभाएकी छु । यो प्रकारको भूमिका मैले अहिलेसम्म कुनै पनि फिल्ममा निभाएको छैन । फिल्ममा मेरो आफ्नो छुट्टै कथा छ ।’
‘फन्को’ फिल्ममा अभिनेत्री प्रियंका कार्कीसँगै अभिनय गरिरहेकी केकीले ‘मेरो बेस्ट फ्रेन्ड’ पनि आफु प्रियंकाको हितैषीको रहेको खुलाइन् । केकी र प्रियंका यतिबेला मिल्ने साथी भएका छन् । रिल र रियल दुबैमा बेस्ट फ्रेन्ड बनेका केकी र प्रियंकाले दर्शकलाई बेस्ट बनाउलान् त ?

