अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘आवरण’ ले सुरुवाती व्यापार सोचे भन्दा निकै कम गरेको छ । निर्देशक सुवास कोइरालाले समेत फिल्मको सुरुवाती व्यापार न्यून रहेको बताए । तर, हेर्ने जति दर्शकले फिल्मलाई राम्रो भनिदिएकोमा निर्देशक कोइरालाले खुसी व्यक्त गरे ।
देशको करिब ४५ हलबाट प्रदर्शनमा आएको अनिल योञ्जन निर्मित ‘आवरण’ले नेपालबाट लगानी उठाउने लगभग असम्भव जस्तै छ । निर्माण युनिटले ‘आवरण’ को लगानी ६५ लाख दाबी गरेको छ । लगानीको ८० प्रतिशत नेपाल तथा विदेश प्रदर्शनबाट उठाउने निर्माण युनिटको लक्ष्य छ ।
सस्पेन्स फिल्म ‘आवरण’ को मुख्य कलाकार अभिनेत्री प्रियंका कार्की हुन् । ‘झोले’को मध्यम र ‘नाईं नभन्नूल २’ ब्ल्कवस्टर व्यापारबाट हौसिएकी प्रियंकालाई ‘आवरण’ फिल्मको व्यापारले भने नराम्रो झट्का दिएको छ । यतिबेला ‘फन्को’ फिल्मको छायाँकनमा व्यस्त रहेकी प्रियंकाले ‘आवरण’ को प्रचार प्रसारमा निकै समय दिएकी थिइन् ।

