राष्ट्रिय बक्स अफिस फिल्म अवार्डमा ‘रिदम’ ले उत्कृष्ट फिल्मले अवार्ड पाएको छ । ‘रिदम’ बाटै विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने सोही फिल्मबाट जीवन लुइँटेल उत्कृष्ट अभिनेता ठहरिए । रेखा थापाले पव्लिक च्वाइस सहित ‘काली’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।
.jpg)


उत्कृष्ट नव निर्देशकको हकदार ‘मोक्ष’ फिल्मका प्रविन श्रेष्ठ बने । 'विन्दास २'को ‘सुन्छु तिमीले मलाई’ बोलको गीतबाट शिव परियार र ‘रिदम’ फिल्मको ‘पागल म बन्न सक्छु’ बोलको गीतबाट रजिना रिमाल उत्कृष्ट बने । ‘काली’ फिल्मको ‘स्लोली स्लोली’ गीतको संगीतबाट बसन्त सापकोटाले उत्कृष्ट संगीतकारको अवार्ड उचाल्दा दयाराम पाण्डे ‘मेरो जीवन साथी’ फिल्मको ‘तिमीसँग रिसाएर’ बोलको गीतबाट उत्कृष्ट गीतकार ठहरिए ।
‘लभ फरेभर’का निर्देशक समेत रहेका शंकर आचार्य उत्कृष्ट खलनायक बने । नव नायक, नव नायिका र सह-अभिनेताको तीनै विधामा ‘होस्टेल’का कलाकारले बाजी मारे । अनमोल केसी, प्रकृती श्रेष्ठ र सलोन बस्नेतले क्रमशः नव नायक, नव नायिका र सह-अभिनेताको अवार्ड पाए । ‘होस्टेल’ले पव्लिक च्वाइस तर्फको पनि अवार्ड पायो ।
अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘किन किन’बाट सह-अभिनेत्रीको अवार्ड उचाल्दा पव्लिकबाट उत्कृष्ट अभिनेता चुनिएका राजेश हमालले ‘मेरो राजेश दाई’ फिल्मबाट चरित्र अभिनेताको अवार्ड पाए । राजेश कार्यक्रममा उपस्थित थिएनन् । त्यस्तै फिल्म ‘छ एकान छ’ बाट केदार घिमिरे उत्कृष्ट हाँस्य कलाकार ठहरिए । बाल कलाकारतर्फ फिल्म ‘रिदम’बाट अनुभव रेग्मी उत्कृष्ट भए ।
‘काली’ फिल्मको ‘स्लोली स्लोली’ गीतबाट कविराज गहतराज उत्कृष्ट नृत्य निर्देशकको हकदार बने भने ‘काली’ बाटै रोशन श्रेष्ठ उत्कृष्ट द्धन्द्ध निर्देशक भए । ‘झेली’ फिल्मबाट गीता अधिकारीले उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड पाइन् । ‘छ एकान छ’ फिल्मबाट दिपकराज गिरीले उत्कृष्ट संवादको अवार्ड उचाल्दा पटकथाको अवार्ड ‘रिदम’ फिल्मबाट विकास आचार्यले लिए । उत्कृष्ट कथातर्फ ‘नोटवुक’ फिल्मबाट योगेश घिमिरेले उत्कृष्ट अवार्ड पाए ।
‘धन्दा’ फिल्मबाट उत्तम न्यौपानले ध्वनीतर्फको अवार्ड पाए भने फिल्म ‘छ एकान छ’ बाट उत्तम बनेपालीले उत्कृष्ट पोशाक (ड्रेस)को अवार्ड लिए । ‘छ एकान छ’ बाटै छायाँकार पुरुषोत्तम प्रधान र एशिल कार्कीले पाश्व संगीततर्फ उत्कृष्टको अवार्ड उचाले । सम्पादनतर्फ ‘काली’ फिल्मबाट वनिश शाह उत्कष्ट मानिए । स्व।गोपाल भूटानीलाई फिल्म ‘शिरिषको फूल’ बाट उत्कृष्ट कला निर्देशकको अवार्ड दिइयो । फिल्म ‘धन्दा’ बाट निमा लामा उत्कृष्ट मेकअप आर्टिस्ट ठहरिए ।
‘छ एकान छ’ का निर्देशक दिनेश डिसी र गायक राजेश पायल राईले पव्लिक च्वइसको अवार्ड उचाले । निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम अचिभ्मेन्टको अवार्ड दिइयो भने अभिनेता भुवन केसीलाई नेपाली फिल्म क्षेत्रको माइलस्टोन (कोसेढुङ्गा) अभिनेताको रुपमा सम्मान गरियो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे, माइती नेपालका अध्यक्ष ‘सिएनएन हिरो’ अनुराधा कोइलारा र महानगरीय प्रहरी प्रमुख रमेश खरेल प्रमुख अतिथि रहेको बक्स अफिस फिल्म अवार्डमा एक सय बढी फिल्मकर्मीदेखि हल सञ्चालक, वितरक, प्रदर्शक, प्रोडक्सन म्यानेजर्सम्मलाई सम्मान गरिएको थियो । घोषणा अनुरुप झुर फिल्मलाई भने अवार्ड दिइएन ।

