चलचित्र पत्रकार संघले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ श्री विदुर गिरीलाई दिने निर्णय गरेको छ । संघका पूर्व अध्यक्ष गिरीलाई लामोसमयदेखि चलचित्र पत्रकारितामा आबध्ह भएको भन्दै सम्मान गर्न लागेको हो ।
यसैगरी यस बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७१’ श्री कृष्ण भट्टराई र श्री राज श्रेष्ठलाई दिने निर्णय गरेको छ । संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बिहिबार (आज) बसेको वैठकले उक्त निर्णय गरेको हो ।
चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका विदुर गिरी विगत २ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । उनी हाल कामना मासिक पत्रिकाको सम्पादक र नेपाल समाचारपत्रको समाचार सम्पादक पदमा कार्यरत छन् । सम्मानित गिरीलाई ताम्रापत्रसहित सम्मान गरिनेछ ।
त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने कृष्ण भट्टराई कान्तिपुर पब्लिकेशनको साप्ताहिकका वरिष्ठ उप–सम्पादक पदमा कार्यरत छ्हन् । अर्का पत्रकार राज श्रेष्ठ स्टार एफएममा कार्यक्रम संयोजक एवं प्रस्तोता तथा कलिउड खबर डटकमका सम्पादक पदमा कार्यरत छन् । पुरस्कृत दुई पत्रकारहरुलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ ।

यस्तै चलचित्र पत्रकार संघले नेपाल पत्रकार महासंघका लागि पार्षद भएका तथा यसैपटक सम्पन्न महासंघको महाधिवेशनमा एसोसिएट सचिव पदमा अत्याधिक मतले विजयी भएका ध्रुब लम्साललाई पनि विशेष सम्मान गर्ने निर्णय गरेको छ ।
चलचित्र पत्रकार संघले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको स्थापना दिवसको अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा सम्मानित एवं पुरस्कृत पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

