अभिनेता राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराईलाई पहिलो पटक मिडियासामु सार्वजनिक गरे । राजधानीको शंकर होटलमा सञ्चारकर्मीमाझ हमालले मधुलाई आमाले लगाएको गहना लगाईदिंदै प्रेम प्रस्ताव समेत राखे ।
पहिलो पटक अफिसियल रूपमा मिडियासामु मधुलाई सार्वजनिक गर्दा हमाल निकै खुसी देखिन्थे । मधुको लजालु मुस्कानमा उपस्थित सञ्चारकर्मीको क्यामेराको 'फ्ल्यास' लगातार चम्किरह्यो । तर, राजेश र मधुको उपस्थिती नै आफैंमा चकम थियो ।
आमावुवाको तस्बिर, फूल तथा वाइनको सजावटले चम्किएको टेबलबाट हमालले मोबाईल उठाउँदै सञ्चारकर्मीमाझ भने, 'मधुलाई आज प्रेम प्रस्ताव आमाले लगाएको गहना लगाईदिएरा राख्दै छु ।' उनले यति के मात्र भनेका थिए मधुको मुहालमा लाज स्पस्ट झल्कियो । जब हमालले मधुलाई नेकलेस लगाइदिए तब माहोल निकै सुन्दर बन्यो । हमालले यो क्षण आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताए ।
राजेश पायल राईको स्वरसँगै सांगीतिक माहोलका विच हमालले मधुसँग बिहे गर्न लागेको कुरा पनि बोले । मे २८ तारिखका दिन मधुसँग पहिलो भेट भएको बताउँदै बिहे पनि सोही मितिमा हुने हमालले बताए । बिहेमा भने तामझान नगरी आफ्नो रगतको साईनो पर्नेलाई मात्र निमन्त्रणा गर्ने हमालले खुलाए ।
९ बर्ष अघि हायात होटलमा मधुलाई भेटेका हमालले कसरी प्रेम मौलायो भन्ने बारे खुलाए । उनले भने, 'मैले उनलाई भिजिटिङ कार्ड दिएँ । केहि दिनमा उनले फोन गरिन् । त्यसपछि हाम्रो सम्बन्धले विस्तारै प्रेमको रूप लियो ।'
५० बर्ष नाघिसकेका हमाललाई सञ्चारकर्मीले सोधे, 'उमेरको 'ग्याप'ले प्रेममा असर पुर्याएन ?' मधु हल्का मुस्कुराईन् । हमालले उतर दिए, 'राजेश हमाल पनि बुढो हुन्छ र ?' माहोल हाँसोमय बन्यो । मज्जाले हाँस्न नसकेकी मधु पनि खुलेर हाँसिन् ।'
बिहे गरे लगत्तै हमाल करिब १५ दिनका लागि मधुलाई छोडेर अष्ट्रेलिया पुग्नेछन् । 'हनिमुन नमनाई अष्ट्रेलिया जाने ?' पत्रकारले सोधेको यो प्रश्नमा हमालले मधुप्रति लक्षित गर्दै भने, 'प्रतिक्षाको फल मिठो हुन्छ ।' मधुलाई हनिमुनका लागि कुर्न आग्रह गर्दै घुमाउरो पारामा अष्ट्रेलियाबाट फर्केपछि मात्र हनिमुन मनाउने हमालले बताए । मधुले मौन स्विकृती जनाईन् ।
मधु भने कार्यक्रम अवधीभर मौन नै बसिन् । मात्र उनको आँखा बोलेका थिए । मधुसँग छोटो मिठो नृत्य गरेका हमालले अन्त्यमा भने, 'आज आमाबुबालाई निकै मिस गरेको छु ।'







