दाङमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका पत्रकार नबिन गिरीको उपचार सहयोगार्थ नेपालगञ्जमा फिल्म ‘एक्सिडेन्ट’को च्यारिटी शो गरिने भएको छ । रेडियो हिमाल एफएम ९२।८ मेगाहर्जले पत्रकार गिरीको आर्थिक सहयोगार्थ आगामी जेष्ठ १२ गते नेपालगञ्जस्थित वागेश्वरी चलचित्र मन्दिरमा च्यारिटी शो गर्न लागेको हो ।
गत वैशाख ६ गते दाङको एयरपोर्ट नजिक मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका पत्रकार गिरीको हाल काठमाण्डौँ स्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । उपचारका लागि करिव १५ लाख खर्च लाग्ने पत्रकार गिरीका भाई प्रविन गिरीले बताए । यसअघि केहि संघसंस्थाले आर्थिक सहयोग गरिसकेका छन् । पत्रकार गिरी नेपालगञ्जस्थित रेहियो हिमाल एफएमका स्टेसन म्यानेजर तथा रेडियो नेपालका बाँके सम्वाददाताका रुपमा कार्यरत छन् ।
समाजमा घट्ने यथार्थ घटना साथै सन्देशमुलक फिल्म ‘एक्सिडेन्ट’ लाई सन्देश वराइलीले निर्माण गरेका हुन् । सडक दुर्घटनाको अलावा मानिसको जीवनमा सानो गल्ती र कमजोरीले सृजना हुने समस्या र जीवनमा घट्ने दुर्घटनालाई फिल्मले देखाएको निर्माता बराइलीले वताए । फिल्मले सडक दुर्घटनालाई न्युनिकरण गर्न मद्दत पुर्याउने निर्देशक कृष्ण अनमोलले आशा व्यक्त गरे । फिल्ममा मुकेश ढकाल, अभय चन्द, किरन थापा, सानु सोयालको मुख्य भुमिका रहेको छ ।

