फिल्म ‘दमदार’ले सुखद सुरुवाती व्यापार गरेको छ । सार्वजनिक बिदाको दिन शनिबार ‘दमदार’ प्रदर्शन भएको अधिकांश हल हाउसफुल रहेको रिपोर्ट छ । ‘दमदार’ काठमाडौका १४ र मोफसलका २ दर्जन हलमा प्रदर्शनरत छ ।
वितरक गोपाल कायस्थले शुक्रबार र शनिबारमा ‘दमदार’ ले झन्डै १४ लाखको व्यापार गरेको बताए । ‘दमदार’ को ओपनिङ राम्रो छ’ उनले भने, ‘बजेट कम भएकाले निर्माताको लगानी उठ्न सक्छ ।’ फिल्म निर्देशक कमलकृष्णले ‘दमदार’ को ओपनिङ दमदार रहेको दाबी गरे । मोफसलमा पनि ‘दमदार’ ले राम्रो व्यापार गरेको वितरक रोहित चन्दले बताए ।
कम बजेटमा निर्माण भएको फिल्म ‘दमदार’ को सुरुवाती व्यापार सुखद हुनुमा अभिनेत्री रेखा थापा रहेको फिल्म वितरकको बुझाई छ । ‘दमदार’ मा रेखा एक्सन इन्सेक्टरको भूमिकामा प्रस्तुत भएकी छिन् । ‘दमदार’ मा रेखासँगै अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका छ । ‘दमदार’ लाई चन्द्र गौतम र सुमन विष्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
‘दमदार’सँगै प्रदर्शनमा आएको इलम दिक्षित निर्देशित फिल्म ‘रेड मनसून’ को भने मल्टिप्लेक्स पर्दामा व्यापार ठिकैको रह्यो । ‘रेड मनसून’ लाई हेर्ने जतिले भने राम्रो रहेको प्रतिक्रिया दिएका छन् । फिल्ममा श्रृष्टि घिमिरे, सरिता गिरी, सन्दिप क्षेत्री, सुदाम सिकेको अभिनय रहेको छ ।

