इलम दिक्षित निर्देशित फिल्म ‘रेड मनसून’ आउँदो शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले नेपाली समाजको वास्तविक पक्षलाई उठाएको छ । वैशाख २६ गते प्रदर्शन मितिलाई लक्षित गरी फिल्ममा आवद्ध कलाकार तथा सदस्यले ‘रेड मनसून’ बारे आ-आफ्नो धारणा राखेका छन् ।
अभिनेत्री सृष्टि घिमिरे भन्छिन्, ‘फिल्म हेरेपछि दर्शकहरुले पक्कै पनि एउटा वास्तविक प्रस्तुती पाउनु हुनेछ । फिल्म हेरेर हलबाट बाहिरिएपछि हाम्रो समाजको बारेमा एकचोटी सोच्न बाध्य गराउनेछ ।’ त्यस्तै अर्की अभिनेत्री सरिता गिरी भन्छिन्, ‘यो तपाई हामी सबैको घरको कथा हो । समग्रमा भन्नु पर्दा यो हाम्रो समाजको कथा हो । समाजमा भएको सानो-सानो घटना, विषय र सम्बन्धलाई फिल्ममा देखाउन खोजिएको छ ।’
कलाकार सन्दिप क्षत्रीले भने ‘रेड मनसून’ लाई आशाको झरी रहेको बताए । उनले भने, ‘ यसमा विभिन्न खालका चरित्रहरु छन् । ती चरित्रका आ-आफ्नै सपनाहरु छन् र ती सपनासँग जुध्दै, निक्लिदै वा त्यो सपनासँग भिज्दै कहिलेकाहीं रमाउँदै र दुः खी हुँदै गएको कथा फिल्ममा हेर्न सकिन्छ ।’ अर्का कलाकार सुदाम सिके भने ‘रेड मनसून’ फरक खालको फिल्म रहेको तर्क गर्छन् । फिल्मबारे उनी भन्छन्, ‘हाम्रै भावनालाई जोडेर फिल्म बनाइएको छ । फिल्म भित्रको चरित्र कहाँ छन् ? भनेर खोजी हिड्नु पर्दैन । फिल्मको घटना, पात्र र परिस्थितिले तपाईलाई छुन्छ ।’
कास्टिङ निर्देशक समुना केसी भने ‘रेड मनसून’ ले रमाइलो पक्षलाई फरक ढंगले प्रस्तुत गरेको बताउँछिन् । समुना भन्छिन्, ‘रमाइलो भनेको नाच्ने गाउँने मात्रै होइन । मैले जिन्दगीमा भोगेको पलहरुलाई यदि कसैले फिल्म, नाटक र किताबमा उल्लेख गर्छ र यो चाहिं विश्वव्यापी रहेछ भने मेरो लागि त्यो पक्ष चाहिं रमाइलो हो ।’

