सामाजिक सञ्जाल फेसबुक शुरू भएको बर्षौ भईसक्यो तर नेपाली फिल्म क्षेत्रमा चर्चित अभिनेता राजेश हमालले भने भर्खरै आफ्नो अकाउन्ट बनाएका छन् । हुनत यसअघि पनि हमालले फेसबुक प्रयोग गर्न एकाउण्ट बनाएका थिए तर निरन्तरता भने दिएनन् ।
प्रेमिका मधु भट्टराईलाई गोप्य राख्दै आएका हमालले पहिलो पटक आफ्नै फेसबुक अकाउण्टबाट सार्वजनिक गरे । 'अब बिस्तारै अपडेट हुँदै जान्छु,' हमालले फेसबुक प्रयोगको बारेमा भने, 'तर यसले धेरै समय खर्च गराउने रहेछ ।'
फेसबुकका शुभचिन्तकसँग भलाकुसारी समेत गरेका हमालले भने, 'कतिले यो सक्कली हो कि नक्कली हो भनेर सोध्छन् । सक्कली हो भन्दा गाली गर्छन् ।' कतिले नक्ककली भएपनि एकछिन गफ गरौं न भन्ने जवाफ दिएको बताउने हमाल हाँस्दै भन्छन्, '७० प्रतिशतले त मलाई नक्कली राजेश हमाल नै भन्ने गरेका छन् ।' फ्यानहरूले च्याटमा दिक्क लगाएपछि हमाल आजभोली कुरा गर्न छोडेको बताउँछन् ।
आफ्नो नाममा सयौं फेक अकाउन्ट बनाएर आफ्नो बारेमा कतिले त नकारात्मक टिप्पणी समेत गर्न थालेकाले पनि फेसबुकको प्रयोग गर्न थालेको उनले सुनाए । फ्यान पेज नबनाउने भन्ने जिज्ञासामा हमालले भने, 'नक्कली राजेश हमालले लाखौं पुर्याईसक्यो अब मैले कसरी त्योसँग प्रतिश्पर्धा गर्नु ? अब कसरी पत्याउलान् र ?
हमालले आफ्नो फेसबुकमा फिल्म र इभेन्टहरूको तस्विरहरू भन्दापनि व्यक्तिगत जीवनका साधारण तस्विरहरू सार्वजनिक गर्ने गरेको बताए । यस्तै उनले फेसबुक प्रयोग गर्न खासै रूची नभएको बताउँदै ट्विटर चलाउने सोच बनाएको बताए । 'यो भन्दा त ट्विटर नै ठिक जस्तो लाग्यो,' हमालले भने ।
यो समयमा आएर सामाजिक सञ्जालप्रति किन रूची बढेको ? भन्ने प्रश्नमा हमालले हाँस्दै भने, 'मिडियामा आएको समाचारको खण्डन गर्न परेन ?' उनले कति समाचारहरू झुठो आउने गरेकाले त्यसको खण्डन सामाजिक सञ्जाल मार्फत गर्ने उनको आशय थियो ।

