श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको दोश्रो फिल्म ‘कोहिनूर’ आउँदो साउन २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । श्रीकृष्ण र श्वेताको पहिलो फिल्म ‘कहाँ भेटिएला’ लाई पनि साउनमै प्रर्दशन गरिएको थियो । जुन फिल्मले सर्वाधिक व्यापार गर्यो ।
निर्माता तथा अभिनेता श्रेष्ठले साउनसम्म फिल्म पूर्ण रुपमा तयार हुने बताए । उनले भने, ‘हामी पोष्ट प्रोडक्सनको अन्तिम तयारीमा छौं । केही सातामा फिल्मको स्टुडियोको काम सबै सकिन्छ ।’ महाराजगञ्जस्थित रेड स्टुडियोमा पोष्ट प्रोडक्सन हुँदैछ । तर, श्रीकृष्णले फिल्मको प्रचार प्रसार भने कसरी गर्ने भन्ने बारे आफु अन्यौलमा रहेको बताए । उनले भने, 'फिल्म बनाइयो तर बजारसम्म जान कठिन होला जस्तो छ ।’
केही सातामै फिल्मको पहिलो गीत सार्वजनिक गर्ने उनको योजना छ । हालसम्म ‘कोहिनूर’को केही पनि प्रचार सामाग्री सार्वजनिक गरिएको छैन । ‘कोहिनूर’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । नेपालबाट भारतको कोठीसम्म नेपाली चेली कसरी पुग्छन् ? भन्ने विषयलाई फिल्ममा प्रस्तुत गर्न खोजिएको छ । फिल्मको सबैजसो छायाँकन भारतमै गरिएको छ ।

