अभिनेता राजेश हमालले फिल्म खैल्न कटौती गरेका छन् । हप्तैपिच्छे राजेशका फिल्म आउनेक्रम केही वर्षदेखि घटेको छ । केही समयदेखि अभिनेता हमाल ‘स्क्रिप्ट कन्सियस’ भएका छन् । हमाल छानेर मात्रै फिल्म खेल्छन् ।
(1).jpg)
अभिनेता राजेश हमालले छानेर खेलेका फिल्म मध्ये जेठ ९ गतेबाट अल नेपाल प्रदर्शनमा आउने ‘हँसिया’ फिल्म पनि एक हो । जुन फिल्मप्रति राजेश निकै आशावादी छन् । केही साता अगाडी लण्डनमा सम्पन्न ‘हँसिया’को प्रिमियर शोमा सहभागी भएर नेपाल फर्किएका अभिनेता हमालले प्रेसका बिच ‘हँसिया’लाई ‘पृथक’ फिल्मको संज्ञा दिए ।
'एउटा कलाकारको लागि हरेक फिल्म प्रिय हुन्छ । तरपनि म भन्छु ‘हँसिया फिल्म पृथक छ । पृथक यस मानेमा कि यो फिल्मले तपाइँलाई बाँध्न सक्छ । ‘हँसिया’ थ्रिलर फिल्म हो तर फिल्म हेर्दा दर्शक बाँधिन्छन्,' हमालले भने- 'लण्डनमा सम्पन्न प्रिमियरमा सहभागीले ‘हँसिया’लाई अत्यन्तै मन पराउनु भयो । नव निर्देशक मिलन चाम्सले ‘हँसिया’लाई अत्यन्तै राम्रो बनाउनु भएको छ ।'
द्धन्द्ध निर्देशक राजकुमार उप्रेतीले खोट लगाउने काम काम नगरेको बताउँदै हमालले 'हँसिया'लाई अर्न्तराष्ट्रिय स्तरको फिल्म भने । 'नेपाली फिल्ममा नायिकाको फाइट नौलो होइन तर हेमाजी (हेमा श्रेष्ठ) ले ‘हँसिया’ मा तालिमप्राप्त खेलाडीले जसरी फाईट हान्नु भएको छ । ‘हँसिया’ को फाइट कुनै बनावटी होइन । त्यसैले पनि ‘हँसिया’ लाई मैले पृथक फिल्म भनेको हुँ,' हमालले भने ।
(1).jpg)
यता मोडल हेमा श्रेष्ठकै लागि ‘हँसिया’ बनाएँ भन्ने निर्देशक मिलन चाम्स फिल्म प्रदर्शनको दिनगन्ती सुरु हुँदा भने तिनै हेमाप्रति असन्तुष्ट देखिएका छन् । ‘हँसिया’ को प्रेसटिमा निर्देशक चाम्सले भने, ‘हेमालाई हामीले ८ महिना तालिम गरायौं, उहाँले फिल्ममा काम पनि राम्रो गर्नुभयो । प्रोडक्ट राम्रो बन्यो तर रिलिज हुने बेलामा उहाँले चटक्कै छोडेर जानुभयो । पब्लिसिटीमा मैले साथ पाउन सकिन ।’
हेमा एयर होस्टेजको तालिम लिन यतिबेला साउदी अरबमा छिन् । निर्देशक चाम्सले बहिनी मानेर हेमाबाट तिहारमा भाइटिका समेत लगाउँदै आएका थिए । निर्देशक चाम्सले ठट्यौली शैलीमा भने, ‘मलाई बैनी फापेन अब चाहिं गर्लफ्रेन्ड नै बनाउँछु । अबदेखि कहिल्यै कसैलाई बैनी बनाउँदिन ।’ धोका दिने बैनीको लिस्टमा हेमा चार नम्बरमा पर्न आउने समेत निर्देशक चाम्सले समेत सुनाए ।
(1).jpg)
त्यस्तै निर्देशक चाम्सले लण्डनमा ‘हँसिया’ को प्रिमियर भव्यताको साथ सम्पन्न भएको र फिल्मलाई सबैले मन पराएको जानकारी दिए । दुर्गा घले निर्मित ‘हँसिया’ जेठ ९ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । थ्रिलर ‘हँसिया’ मा हेमा श्रेष्ठ, राजेश हमाल र अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको छ ।
फिल्ममा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन छ । अभिनेत्री प्रियंका कार्कीको समेत आइटम नृत्य रहेको ‘हँसिया’लाई रामकुमार केसीले खिचेका हुन् । ‘हँसिया’ काठमाण्डौमा दर्शना आर्टस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

