नेपालबाट तिन करोड माथीको व्यापार गर्न सफल फिल्म 'नाईं नभन्नु ल २'ले अष्ट्रेलियामा पनि राम्रो सफलता पाईरहेको छ । अष्ट्रेलियामा रहेका फिल्मका निर्माता दिनेश कुमार पोखरेलले दर्शकहरूले फिल्मलाई निकै रूचाएको बताए ।
.jpg)
.jpg)
फिल्मीखबरसँग कुरा गर्दै निर्माता पोखरेलले भने, 'यहाँ आयोजना गरिएका सबै शोमा दर्शकको उपस्थिती अत्यन्त सुखद रह्यो । सिड्नीमा ६ शो देखाएका दिनेशले सबै शोमा दर्शक खचाखच भएको बताए । भर्खरै मात्र मेलबर्नमा समेत फिल्मको शो राखेका उनले भने, 'मेलबर्नमा आयोजना गरिएको शो पनि सफल भयो । अब पर्थ, क्यान्बेरा, ब्रिसबेन, ड्रविन, होबर्टलगायतका शहरमा फिल्म देखाउँदै छौं ।'
अष्ट्रेलियाबाट मात्रै झण्डै ३० लाख रूपैयाँको कलेक्सन भएको दाबी गरेका निर्माता पोखरेलले बिश्वभरबाट ५० लाख मुनाफा कमाउने लक्ष्य राखेको बताए । उनले भने, 'अमेरिकामा हामी फिल्म बेचिसक्यौं । त्यहाँ अहिले फिल्म सफलताकासाथ चलिरहेको छ । अब छिट्टै नै न्यूजिल्याण्ड, जापान, इजरायल र युरोपमा बिभिन्न मुलुकमा रिलिज गर्दैछौं ।'
अमेरिकामा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाईरहेका अभिनेता सरोज खनालले दर्शकले फिल्मलाई अत्याधिक रूचाएको बताएका छन् । विकास आचार्य निर्देशित यो फिल्म अहिले पनि नेपालमा चौथो सातामा प्रदर्शनरत छ ।

