अभिनेत्रीद्धय गरिमा पन्त र सुमिना घिमिरेलाई वैशाखमै तीज लागेको छ । तीज नआउँदै यी दुई अभिनेत्री तीज गीतमा नाच्नमा व्यस्त थिए । अनामनगरस्थित नुतन स्टुडियो दिनभर जसो तीजमय बन्यो । तीजको गीत बजिरह्यो, गरिमा र सुमिना नाचि रहे ।


फिल्म ‘रङ वैजनी’ का लागि गरिमा र सुमिनाले कम्मर मर्काएका थिए । नृत्य निर्देशक बसन्त श्रेष्ठले उक्त फिल्मको तीज गीतमा निर्देशन गरे । फिल्ममा ५ गीत समावेश हुनेछन् । गत साता छायाँकन सुरु भएको ‘रङ वैजनी’ को एक महिनासम्म छायाँकन चल्नेछ । काठमाण्डौ भित्रकै स्थलमा ‘रङ वैजनी’ लाई खिचिनेछ ।


लामो समय पछि ‘रङ वैजनी’ मार्फत शम्भू प्रधान फिल्म निर्देशनमा फर्किएका छन् । शम्भूकै छोरा शशांक प्रधान ‘रङ वैजनी’ मार्फत क्यामेरा पर्सनको रुपमा रजतपटमा डेव्यु गर्दैछन् । यसै फिल्मबाट फिल्मबाट बलिउड फिल्म खिच्ने विनोद प्रधानका छोरा दिप प्रधानले पनि संगीतकारको रुपमा डेव्यु गर्दैछन् ।
पारिवारिक प्रेमकथाको ‘रङ वैजनी’ मा गरिमा र सुमिनासँगै मोडल दिक्पाल कार्कीको प्रमुख अभिनय रहेको छ । दिक्पाल यसै फिल्मबाट हिरोको रुपमा डेव्यु गर्दैछन् ।

