अभिनेत्री अरूणिमा लम्सालले फिल्म ‘पीपल’ मा आफ्नो भूमिका फरक रहेको बताएकी छिन् । आफूले अभिनय गरेका ५२ वटा फिल्म मध्ये ‘पीपल’ मा आफ्नो भूमिका फरक रहेको अरूणिमाले बताइन् ।
‘पीपल’को प्रेसमिटमा अभिनेत्री लम्सालले भनिन्, ‘पीपल खेल्ने पहिलो प्रस्तावलाई मैंले अस्विकार गरेको थिएँ । श्रीमानसँगको सल्लाह पछि रोल हेरेर खेल्न राजी भएँ ।’ ‘पीपल’मा अरूणिमाले दलित आमाको रोल निभाएकी छिन् । पारिवारिक र रोमान्टिक खालको फिल्ममा मात्रै अभिनय गरेकाले ‘पीपल’ को उक्त भूमिका निभाउन केही असहज भएको अरूणिमाले बताइन् ।
‘पीपल’ मा अरूणिमासँगै अभिनेता किशोर खतिवडा, शुष्मा अधिकारी, अमिर सिंह ठकुरी, ध्रुब कोईराला र रजवल सिलवालको मुख्य भुमिका रहेको छ । निरञ्जन कसजुको निर्माण एवं निर्देशन रहेको ‘पीपल’ आउँदो जेठ २ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । फिल्ममा लोचन घिमिरे र रेखा पौडेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्द्धनिर्देशन तथा प्रदीप श्रेष्ठको करियोग्राफी रहेको छ ।

