अभिनेता जीवन लुईटेलले फिल्मको संगीत पक्ष हेरेर फिल्म खेल्ने बताएका छन् । श्रावण २३ गते प्रदर्शन हुने फिल्म 'शीशा'को संगीत पक्ष उत्कृष्ट भएकै कारण अभिनय गरेको अभिनेता लुईटेलले बताए ।

'शीशा'को प्रेसमिटमा जीवनले भने, 'नैना रेशम फिल्मको 'ढल्क्यो ढल्क्यो' गीत साह्रै राम्रो थियो । सोही फिल्मका निर्देशकको फिल्म भनेपछि संगीत पक्ष पक्कै उत्कृष्ट हुन्छ भनेर 'शीशा'मा अभिनय गरें ।' 'नाई नभन्नू ल', 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला', 'गाला रातै', 'पागल म बन्न सक्छु' जस्ता सर्वाधिक हिट गीत जीवनको भागम परेका छन् ।
लक्की सिटौलाद्धारा संगीतबद्ध 'शीशा'मा ५ गीत समावेश छन् । संगीतकार सिटौलाले 'शीशा' पछि अन्य फिल्ममा आफुले संगीत दिने अवसर पाएको बताए । निर्देशक आरवी खत्री शरदले 'शीशा' राम्रो फिल्म बनेको बताए । 'शीशा'को छायाँकन काठमाण्डौ र सिक्किममा गरिएको छ । जीवनसँगै 'शीशा'मा सर्मिला मल्ल, शान्ति गिरी, उमा बेबी, रागिनी खड्गी, निर्मल सेन्चुरी, दिपेश भण्डारी, बि.एस. राणा लगायतको अभिनय रहेको छ ।
'शीशा'मा भारतीय फुटबलर भाईचुङ भुटियाको समेत विशष भूमिका रहेको छ । जीवन शीशा जस्तै संवेदनशील छ, यसलाई जतन गरेर राख्नुपर्छ भन्ने स्लोगन दिइएको 'शीशा'मा निर्देशक शरद सहित अजिता सुमार्गी, महेश ढुङ्गेल, मधुसुदन ढकाल, विराट थापाको लगानी रहेको छ । कुमार बखती र राम कुमार केसीको छायाँकन रहेको 'शीशा'मा कमल राई र दिनेश अधिकारीले नृत्य निर्देशन गरेका छन् ।

