Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.80/5.00)
Text size:-
+
-

पोखरामा `नोभेम्बर रेन`को ज्वरो

रेम बिक, पोखरा, 2014/05/04

व्यवसायिक सफलता पाएपश्चात नेपाली फिल्म ‘नोभेम्बर रेन’को टिम पोखरा आईपुगेको छ । ‘फिभर नोभेम्बर रेन’ नाम दिएर प्रचारप्रसारमा निस्किएको टोलीले शनिबार विहान ताल नगरीमा संचारकर्मीहरुसंग भेटघाट गर्‍यो ।

 

 

 

अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउतसहितको टोलीले पत्रकारहरुसंगै बसेर फिल्म समेत हेर्‍यो । दर्शकहरुसंग साक्षात्कार गर्‍यो र फिल्मको बारेमा प्रतिक्रिया लियो । हल संचालक उत्तम द्वाले फिल्मको कलेक्शन निकै राम्रो भएको बताएपछि टोली अझै बढि हौसियो । हलमा भरिभराऊ दर्शकहरुकै माझमा बसेर फिल्म हेर्दा नम्रता पनि निकै खुसी देखिन्थिन् । विरामीका कारण रेस्ट गर्न आईपुगेकी नम्रताले पहिलोपटक फिल्म हेरेकी हुन् ।

 

‘डबिङको बेलामा हेरेकी थिएँ, तर हलमा प्रदर्शनमा आईसकेपछि दर्शकहरुसंग बसेर हेरेको यो पहिलो पटक हो,’ नम्रताले भनिन्–‘फिल्मले राम्रो प्रतिक्रियासंगै व्यापार पनि गरेकोले म एकदम खुसी छु ।’ उनले आर्यन ‘एलिएन’लाई भने मिस गरिन् । आर्यन यतिबेला फिल्म ‘केशरी’को सुटिङका लागि कोरियामा छन् ।

 

निर्देशक दिनेश राउतले पनि फिल्मको व्यापारबाट आफु निकै उत्साहित भएको बताए । उनले भने–‘मेरो चाहना सँधै हुने गथ्र्यो कि सबै तहतप्काका दर्शकका लागि फिल्म बनाऔँ,’ उनले भने–‘त्यहि अनुरुप नोभेम्बर रेन बनाएको र आफ्नो सोँच पुरा भएको मैले महशुस गरेको छु ।’ मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा फिल्मको व्यापार उच्च भएको उनले बताए ।

 

'मेरो एउटा साथी छ' पश्चात एउटै फिल्ममा जोडि भएर खेलेका आर्यन र नम्रताको केमेस्ट्रीलाई नोभेम्बर रेनमा दर्शकहरु निकै रुचाएका छन् । दोस्रो साताको यात्रामा रहेको यो फिल्मको व्यापारमा कुनै कमी नआएको हल संचालक उत्तम द्वाले बताए । सबै उमेर समुहका दर्शकहरुले फिल्म रुचाएको उनले बताए ।

 

आर्यन सिग्देल ईन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्मका निर्माता आर्यन र सुवास गिरी हुन् । फिल्ममा आर्यन, नम्रतासंगै छुल्ठिम गुरुङको पनि प्रमुख भुमिका छ । अभिनयको हिसाबले छुल्ठिमको पहिलो फिल्म भएपनि दर्शकले उनको अभिनय क्षमताको खुलेरै प्रशंसा गरेका छन् ।