दोश्रो प्रोमोमा समावेश एउटा अश्लिल शब्दका कारण ‘मुखौटा’ युनिट यतिबेला प्रश्नको घेरामा बाँधिएको छ । अडियो लञ्च गर्न आयोजना गरिएको प्रेसमिटमा पनि प्रोमोमा समावेश अश्लिल शब्दको प्रयोग बारेको जिज्ञासाबाट ‘मुखौटा’ युनिट पन्छिन पाएन ।

के प्रोमोमा अश्लिल शब्दकै प्रयोग गर्न आवश्यक छ भन्ने ? सञ्चारकर्मीको प्रश्नमा निर्देशक अर्पण थापाले समाजमा बोलिने वास्तविक शब्दलाई प्रयोग गर्न खाजिएको बताउँदा कलाकार दयाहाङ राईले भने गाली गलौज गरेर फिल्म चलाउने नियत नरहेको धारणा राखे । ‘मुखौटा’ मा मुख्य कलाकारको रुपमा समेत प्रस्तुत भएका निर्देशक थापाले अश्लिल शब्द प्रयोग गरिएको बारे भने, ‘हाम्रो फिल्मको विषय अनुसार पात्रले बोल्ने वास्तविक शब्दलाई प्रयोग गरेका हौं । यदि यसमा सेन्सरले आपत्ती जनाउँछ भने हामी हटाउन तयार छौं ।’

प्रोमो प्रशारण गर्दा कुनै हलमा उक्त अश्लिल शब्दमाथि साउन्ड म्यूट गरिएको समेत निर्देशक थापाले बताए । त्यस्तै उनले थिएटर र मूलधारका कलाकारबिचको भेदभावलाई हटाउन ‘मुखौटा’ मा राजेश हमालदेखि दयाहाङसम्मलाई लिएर कलाकारको टोली जम्बो पारिएको बताए । अभिनेता सौगात मल्लले भने ‘मुखौटा’ मा आफ्नो पापी मान्छेको भूमिका रहेको बताए ।

अभिनेत्री निशा अधिकारीले माया देखाउने खालको भूमिका रहेको बताइन् । कार्यक्रममा अभिनेत्री हर्षिका श्रेष्ठ, कोरियोग्राफर रेनशा बान्तवा राई उपस्थिति भए कुनै अभिव्यक्ती दिएनन् । प्रेसमिटमा सहभागी ‘मुखौटा’ युनिटले संयुक्त रुपमा अडियो सार्वजनिक गर्यो । कल्याण सिंह र काली प्रसाद रिजालद्धारा संगीतवद्ध फिल्ममा ५ वटा गीत समावेश रहेका छन् । कार्यक्रममा फिल्मका ओर्जिनल साउन्ड ट्रयाकलाई देखाइयो ।

गीतकार भूपेन्द्र खड्काले ‘मुखौटा’ को गीत संगीत उत्कृष्ट रहेको बताए । रविन श्रेष्ठको लगानी रहेको ‘मुखौटा’ मा सौगात, दयाहाङ, निशा, हर्षिका सहित अभिनेता राजेश हमाल, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्रकारको मुख्य भूमिका रहेको छ । आउँदो जेठ १६ गते अल नेपाल प्रदर्शन हुने माफियाको फिल्म ‘मुखौटा’ प्रतिक्षित बनेको छ ।

