‘भिमदत्त’ फिल्मले ट्रायल शो गरेको छ । कमलपोखरीस्थित जय नेपाल हलमा आयोजना गरिएको ट्रायल (परिक्षण) शोमा फिल्मसँग सम्बन्धित सदस्य, फिल्मकर्मी एवं अन्य दर्शकको खचाखच उपस्थिति रहेको थियो ।

ट्रायल शोमा सहभागी अधिकांशले ‘भिमदत्त’ फिल्म राम्रो रहेको प्रतिक्रिया दिए । ‘भिमदत्त’ डढेलधुराका किसान नेता भिमदत्त पन्तको जीवनीमा आधारित फिल्म हो । भिमदत्तको पत्नीको भूमिका निभाएकी अभिनेत्री सुमिना घिमिरेको अभिनयले सबैको मन छोयो । ट्रायल शोमा अभिनेत्री घिमिरे सहित ‘भिमदत्त’ को शिर्ष भूमिकामा प्रस्तुत भएका नवल खड्का, अभिनेत्री निशा अधिकारी लगायत अन्य कलाकारको सहभागी रहेको थियो ।
कलाकार तथा निर्माता नवल खड्काले ट्रायल शोबाट सच्याउनु पर्ने कुनै प्रतिक्रिया नआएको बताए । उनले भने, ‘फिल्मलाई सबैले उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ । त्यसैले नसच्याएरै फिल्मलाई देखाउँछौं । ’ फिल्मका निर्देशक हिमग्याप टासी भने यतिबेला अमेरिकामा छन् । निर्देशक टासीकै सक्रियतामा केहि साता अगाडी अमेरिकामा ‘भिमदत्त’को रेड कार्पेट प्रिमियर सम्पन्न भएको थियो । ‘भिमदत्त’ को नेपाल रिलिज भने तोकिएको छैन ।

