सवारी साधन जिपलाई प्रमुख कलाकारको रुपमा राखेर निर्माण गर्न लागिएको फिल्म 'फन्को' बिहिबारबाट छायाँकनमा जाने भएको छ । फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्ने छन् ।
थापाले यस अघि 'सुनगाभा' नामक फिल्म निर्देशन गरेका थिए । फ्रान्सबाट फिल्म निर्देशन सम्बन्धी अध्ययन गरेका थापाले निर्देशन गरेको 'सुनगाभा' ओस्कार मनोनयनमा पर्न सफल भएको थियो । पृथक कथाबस्तुलाई दर्शकमाझ पस्कने निर्देशकको रुपमा चिनिएका थापाले 'फन्को' सस्पेन्स थ्रिलर रहने बताएका छन् ।
नेपाली परिबेश र दैनिक आवश्यकतालाई मध्यनजर गर्दै पैसाको पछाडी दौडने नेपाली राजनैतीक परिवेशलाई 'फन्को'को मेरूदन्ड बनाईएको निर्देशक थापाले बताए । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारीको मुख्य भूमिका रहने छ । पोखराबाट छायाँकन प्रारम्भ गरिने 'फन्को'ले प्रस्तावित पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा देखिएको ढिलाईको कारणलाई पनि बोल्ने बताईएको छ ।
फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन, चेतन सापकोटाको संगीत रहने छ । करिब पचास लाख रुपैयाँको लगानी रहने फिल्ममा नरेन्द्र महर्जन, बेल्जियम निबासी गैरआवासिय नेपाली शहदेब गौतम र पदम गुरुङको लगानी रहने बताईएको छ । कथा तथा पटकथा आफ्नै रहेको निर्देशक थापा अनुभबी कलाकारहरुको खारिएको अभिनयले 'फन्को' सफल बन्ने बताउँछन् ।

