मर्ने कसैलाई रहर हुँदैन
नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने शहर हुँदैन
प्रस्तुत शब्द देशभर सफलताकासाथ प्रदर्शनरत फिल्म 'नाईं नभन्नु ल २'को गीतको एक अंश हो । यहि फिल्मका निर्देशक विकास आचार्यले कृष्णहरि बरालले कोरेको प्रस्तुत गीत सम्झदै बुबालाई स्मरण गरे । 'बुवाले मेरी आमालाई सार्है माया गर्नुहुन्थ्यो । आमा औंशीकै दिन उहाँले सबैलाई छाडेर जानुभयो,' निर्देशक आचार्य भावविह्वल भए ।
नेपाली फिल्म क्षेत्रमा सफल निर्देशकको ट्याग भिर्दै गरेका निर्देशक आचार्यले थपे, 'मेरो सफलता हेरेरै बुवा बित्नुभयो ।' मुटुको समस्याबाट पीडित निर्देशक आचार्यका पिता देविप्रसादले ८४ बर्षको उमेरमा आज बिहान यो संसार छाडेर जानुभएको हो । पिताको निधन भएपश्चात निर्देशक आचार्य आज गृहनगर विराटनगर पुगेका छन् ।
निर्देशक आचार्यका ५ दाजुभाई छन् । जसमध्ये निर्देशक आचार्य साईंला छोरा हुन् भने जेठो छोरा शैलेश आचार्य पनि फिल्म निर्देशक हुन् । शैलेशले थुप्रै फिल्म निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म 'खग्रास' हो ।
यस दु:खद घडीमा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति फिल्मीखबर डट कम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

