बेलायतमा प्रदर्शन गरिएको फिल्म 'हँसिया' हेर्न आएका एक दर्शकले निर्देशक मिलन चाम्सलाई ५०० पाउण्ड खुसी स्वरूप उपहार दिए । यसरी एउटै दर्शकबाट झन्डै नेपाली रूपैयाँ ८४ हजार पाएपछि मिलनको खुसीको सिमा छैन ।

विकुलमान राईले दिएको ५०० पाउण्डको चेक देखाउँदै निर्देशक मिलन चाम्स र अभिनेता राजेश हमाल
गत साता 'हँसिया'को बेलायतमा रेड कार्पेट प्रिमियर गरिएको थियो । सोही समयका फिल्म हेर्न आएका विकुलमान राईले राम्रो फिल्म बनेको भन्दै मिलनलाई खुसीसाथ ५०० पाउण्डको चेक थमाएका हुन् । 'दुई पटक फिल्म हेरेको भन्दै खाममा मायाको चिनो भनेर दिनुभयो । व्यस्तताले गर्दा तीन दिनपछि उक्त खाम खोलेर हेर्दा ५०० पाउण्डको चेक पो रै'छ,' निर्देशक चाम्सले खुसी साट्दै भने, 'नेपाली फिल्मलाई यतिधेरै माया गर्ने दर्शक अहिलेसम्म देखेको थिईन् ।'
यस्तै 'हँसिया' हेरेरै हाल बेलायतमा बस्दै आएका गायक भूमिराज राईले पनि मिलनलाई सम्मान स्वरूप ५० हजार रूपैयाँको चेक दिए । उनले पनि फिल्म हेरेपश्चात खुसी भएर नै उक्त रकम दिएका हुन् । यि दुई व्यक्तिले यसरी नेपाली फिल्मप्रति माया दर्शाउँदा मिलनसँगै रहेका अभिनेता राजेश हमाल भने चकित भए ।

निर्देशक मिलन चाम्सलाई ५० हजार रूपैयाँको चेक दिंदै गायक भूमिराज राई
राजेशकै उपस्थितीमा मिलनले बेलायतमा 'हँसिया'को ६ शोको आयोजना गरे । ६ वटै शोबाट दर्शकको राम्रो प्रतिक्रिया पाएको मिलनले बताए । अभिनेता हमालसहित हेमा श्रेष्ठ र अनुपबिक्रम शाही मुख्य अभिनय रहेको यो एक्सन प्रधान फिल्म नेपालमा जेठ ९ गते रिलिज हुँदैछ । फिल्मलाई दुर्गा घलेले निर्माण गरेकी हुन् ।

