फिफा वर्ल्ड कप सुरु हुन डेढ महिना जसो बाँकी छ । तर, नेपाली फिल्म हलमा भने यो शुक्रबारबाटै वर्ल्ड कप सुरु हुँदैछ । आउने शुक्रबार वैशाख १९ गतेदेखि काठमाण्डौ तथा काठमाण्डौ बाहिरका हलबाट ‘वर्ल्ड कप इन नेपाल’ नामक फिल्म प्रदर्शन हुँदैछ ।
नेपालको विश्वकप फुटलब खेल्ने सपना कहिले पूरा हुन्छ ? अनिश्चित छ । तर, निर्देशक रामशरण उप्रेतीले भने नेपाली खेलाडीको वर्ल्ड कप खेल्ने सपनालाई फिल्म मार्फत पूरा गरिदिएका छन् । राष्ट्रिय फुटबल टोलीमा खेलाडीप्रति गरिने व्यवहार र ग्रामीण क्षेत्रमा फुटबलको अवस्थालाई निर्देशक रामशरण पाठकले पर्दामा उतारेका छन् ।
एक साता अघि गरिएको प्रिमियरमा ‘वर्ल्ड कप इन नेपाल’ले राम्रो प्रशंसा पाएको थियो । एन्फा अध्यक्ष गणेश थापादेखि राष्ट्रिय टोलीका पूर्व कप्तान हरी खड्कासम्मले ‘वर्ल्ड कप इन नेपाल’ को खुलेर प्रसंशा गरेका थिए ।
फिल्ममा गोपाल अर्याल, उमेश थापा, सोनु केसी, गिरी प्रसाद पुन, सर्मिला शर्मा, सगुन केसी, लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रकाश थापाले निर्माण गरेका हुन् । दर्शना आर्टस्ले ‘वर्ल्ड कप इन नेपाल’ को वितरण जिम्मा लिएको छ । फिफा वर्ल्ड कप आउनु अगाडी पर्दाको वर्ल्ड कप हेर्न जाने होइन त ?

