यतिबेला फिल्मी बजारमा ‘मुखौटा’ इनिसियल हिट फिल्मको रुपमा हेरिदै छ । सार्वजनिक गरिएको प्रोमो तथा जम्बो कलाकारको अभिनयले ‘मुखौटा’ फिल्म वर्ष ०७१ सालको प्रतिक्षित फिल्म बन्न पुगेको हो ।
अघिल्लो साता सार्वजनिक गरिएको ‘मुखौटा’को हल ट्रेलरले भने यस फिल्मप्रति केहि प्रश्न खडा गरिदिएको छ । माफियाहरूको बिषयलाई उठान गरेको यो फिल्मको ट्रेलरमा सौगात मल्लले बोलेको संवाद अश्लिल सुनिएपछि कतै यो फिल्म यस्ता अश्लिल संवादले भरिएको त छैन ? भन्ने प्रश्न एकातिर उब्जिएको छ भने अर्कोतिर ग्याङ्स्टारको कथा दोहोरिने त हैन ? भन्ने प्रश्न पनि खडा गरिएको छ ।
‘मुखौटा’ निर्देशक तथा कलाकार अर्पण थापाले अश्लिल फिल्म नभएको बताए । उनले हामीले समाजमा देखेको र भोगेको कथा भएपनि प्रस्तुती भिन्न रहेको बताए । फिल्ममा अश्लिल शब्द बोलेका अभिनेता सौगात मल्लले पनि उक्त फिल्म अश्लिल नभएको बताए ।
राजेश हमाल, सुनिल थापा, अर्पण थापा, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, निशा अधिकारी, प्रशान्त ताम्राकार, हर्षिका श्रेष्ठ ‘मुखौटा’ का मुख्य कलाकार हुन् । फिल्मका स्क्रिप्ट राइटर निर्देशक थापा स्वयम् हुन् । चन्द्र पन्त ‘मुखौटा’ का फाइट निर्देशक हुन् । रविन श्रेष्ठ निर्मित ‘मुखौटा’ हाइ बजेटको फिल्म हो ।

