फिल्म ‘माया गर ल’ को प्रेसमिटमा अभिनेत्री सौजन्य सुब्बा र अभिनेता भूपेन चन्दको जोडी सबैको नजर परे । सौजन्य र भूपेनको जोडी पर्दामा मात्रै नभएर पर्दा बाहिर पनि जम्ने गरेको फिल्म वृत्तमा हल्ला छ । यद्पी यो जोडीले हल्लालाई स्विकार भने गरिसकेको छैन ।
‘माया गर ल’ को प्रेसमिटमा सौजन्य र भूपेनको जोडी जम्दा अभिनेता मुकेश ढकाल भने एक्लिए । पर्दामा जोडी बनेकी अभिनेत्री ऋचा सिंह ठकुरी प्रेसमिटमा उपस्थित नहुँदा मुकेश एक्लिएका हुन् । आउँदो शुक्रबार वैशाख १९ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्म ‘माया गर ल’ ले पहिलो पत्रकार भेटघाट गर्यो । अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको कार्यक्रममा फिल्मका निर्माता, निर्देशक एवं कलाकारले दर्शकलाई हलसम्म गएर फिल्म हेर्न विशेष अनुरोध गरे ।
अभिनेत्री सौजन्य सुब्बाले भनिन्, ‘हामीलाई जस्तै हाम्रो फिल्मलाई पनि माया गरिदिनु होला ।’ अभिनेताद्धय मुकेश ढकाल र भूपेन चन्दले फिल्ममा दर्शकलाई चाहिने मसला भरपूर रहेको बताए । ‘माया गर ल’ आफ्नो २४ औं फिल्म रहेको जानकारी दिदैं निर्देशक मदन घिमिरेले भने, ‘अभिभावकले आफ्नो सन्तानप्रति जिम्मेवारी वहन नगर्दा कस्तो समस्या आउँछ भन्ने कुरा फिल्ममा देखाइएको छ ।’
निर्माता रामकेशर बोगटीले भने फिल्मबारे सकारात्मक सन्देश प्रवाह गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे । कार्यक्रममा फिल्मको गीत तथा प्रोमो देखाइएको थियो । ‘माया गर ल’ मा शिवम अधिकारीको लेखन, एलिस दलीको पाश्र्व संगीत एवं रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ । फिल्मका छायाँकार शम्भू सापकोटा हुन् । सौजन्य, भूपेन, मुकेश र ऋचा सहित फिल्ममा निर्माता वोगटी स्वयम्, गोमा केसी, गोपाल नेपाल ‘फिस्टे’, रुपा खनाल, राम महर्जन, कृष्ण चौलागाइँ लगायतको भूमिका रहेको छ ।



