अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्कीलाई दर्शकले हप्तैपिच्छे हेर्ने पाउने भएका छन् । राजेश र प्रियंकाको फिल्म हलमा एक पछि अर्को गर्दै दुई हप्ता लगातार प्रदर्शन हुँदैछन् ।
उसो त अभिनेता राजेश हमालको फिल्म हप्तैपिच्छे फिल्म प्रदर्शनमा आउनु नौलो खबर होइन । तर, राजेश अभिनित ‘हँसिया’ र ‘मुखौटा’ फिल्मले भने दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । ‘हँसिया’ आउँदो जेठ ९ गते अल नेपाल प्रदर्शन हुँदैछ भने ‘हँसिया’ रिलिज भएको एक साता पछि जेठ १६ गते हमालकै ‘मुखौटा’ फिल्म प्रदर्शनमा आउँदैछ ।
मिलन चाम्स निर्देशित ‘हँसिया’ मा राजेशसँगै हेमा श्रेष्ठले भरपुर एक्सन दिएकी छिन् । त्यस्तै अभिनेता अर्पण थापा निर्देशित ‘मुखौटा’ मा राजेशसँगै सौगात मल्ल, सुनिल थापा, रविन तामाङ, दयाहाङ राई, निशा अधिकारी, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकार र निर्देशक थापा स्वयम्को मुख्य अभिनय रहेको छ । ट्रेलर रिलिजसँगै ‘मुखौटा’ प्रतिक्षित फिल्म बन्न पुगेको छ ।
अभिनेत्री प्रियंका कार्कीको डेव्यु फिल्म ‘मेरो वेस्ट फ्रेन्ड’ आउँदो जेठ २६ गते प्रदर्शन हुँदैछ । पछिल्लो समयकी व्यस्त अभिनेत्री प्रियंकाको पहिलो फिल्म कस्तो होला ? चासो छ । प्रशन्न पौडेल निर्देशित फिल्ममा प्रियंकासँगै केकी अधिकारी, विमलेश अधिकारी, रेश मरठ्ठा, दिवस उप्रेती लगायतको मुख्य भूमिका छ ।
‘मेरो वेस्ट फ्रेन्ड’ रिलिज भएको एक साता पछि वैशाख २ गते प्रियंकाकै शिर्ष भूमिका रहेको फिल्म ‘आवरण’ अल नेपाल प्रदर्शन हुँदैछ । सुवास कोइराला निर्देशित ‘आवरण’ को शिर्ष गीतमा प्रियंकाले आफ्नै स्वर रेकर्ड गराएकी छिन् ।
अहिले पनि प्रियंका अभिनित फिल्म 'नाईं नभन्नु ल २' सफलताकासाथ तेस्रो सातामा प्रदर्शनरत छ । यस्तै जेठ ९ गते रिलिज हुने फिल्म 'हँसिया'मा पनि प्रियंकालाई अतिथी भूमिकामा देख्न सकिन्छ । हप्तैपिच्छे हलमा फिल्म प्रदर्शन हुँदा राजेश र प्रियंकालाई कुन फिल्मको प्रोमोशनमा जुट्ने भन्ने दोधार पक्कै परेको होला ।

