हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'नोभेम्बर रेन'को शुरूवाती व्यापार अत्यन्त उत्साहजनक रहेको छ । आक्रमक ओपनिङ कलेक्सन गरेको यो फिल्मको शनिबारको शो सोचे भन्दा राम्रो रहेको पाईएको छ ।
यसअघि लगातार फ्लप फिल्ममा देखिएका अभिनेता आर्यन सिग्देल 'नोभेम्बर रेन' चलेपछि सबैभन्दा बढि खुसी देखिएका छन् । आफैले निर्माण गरेको फिल्मले शुक्रबार र शनिबार आक्रमक व्यापार गरेपछि आर्यन खुसीले गदगद छन् । हलमा दर्शकको उपस्थितीलाई आर्यनले 'नोभेम्बर रेन'मा दर्शकको बर्षा भन्दै खुसी साट्न थालेका छन् ।
देशभरका हलले दर्शकको उपस्थितीलाई थेग्न नसकेको भन्दै निर्माता गिरीले भने, 'दर्शकले दिएको यो साथ र मायालाई मैले जीवन्त भुल्ने छैन ।' उनले देशका कतिपय हलमा त अहिलेसम्मकै उच्च कलेक्सन भएको समेत बताएका छन् ।
आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले अत्याधिक रूचाएको पाईएको छ । बिशेषगरी नव अभिनेत्री छुल्ठिम गुरूङको अभिनयमा दर्शकले बढि मनोरञ्जन पाएको प्रतिक्रिया छ ।
निर्देशक दिनेश राउतले पनि फिल्म चलेपछि फिल्मीखबरसँग आफ्नो खुसी साटेका छन् । 'आज म एकदमै खुसी छु । भोलीका दिनमा पनि दर्शकको यस्तै साथ रहने अपेक्षा गर्दछु,' दिनेशले भने ।
'नोभेम्बर रेन'सँगै प्रदर्शनमा आएको फिल्म 'कबड्डी'को पनि व्यापार उत्साहजनक छ भने दुई साता अगाडीबाट प्रदर्शनरत फिल्म 'नाईं नभन्नु ल २' हेर्न हलमा दर्शकको भिड बाक्लो छ । बर्ष २०७१ सालको शुरूवातमा देखिएको दर्शकको यो उत्साहजनक साथले नेपाली फिल्मकर्मीलाई खुसी दिएको छ ।

