पछिल्ला दिनहरुमा नेपाली फिल्मको व्यापारले गति लिएको छ । फिल्म हलमा देखिएको मानिसको भीड र कलेक्सनले यस्तो देखाएको हो । फिल्म निर्माता, वितरक र हलवालाहरुले पनि व्यापार बढेको बताएका छन् ।
वर्ष ०७० को अन्त्यतिर रिलिज भएका दुई फिल्म ‘आधी बाटो’ र ‘नाई नभन्नु ल २’बाट शुरु भएको सुखद व्यापारले अझै निरन्तरता पाउने सँकेत देखिएको हल संचालक उत्तम द्वा बताउँछन् । ‘नाई नभन्नु ल २’ले तेस्रो हप्तासम्म आईपुग्दा पोखराबाट मात्रै १५ लाख भन्दा बढिको ग्रस कलेक्सन गरेको छ । विकास आचार्य निर्देशित यो फिल्मको देशव्यापी कलेक्सन तीन करोड नाघिसकेको वितरण कम्पनी एफडीको तथ्याङ्कले देखाउँछ ।
यस्तै यहि शुक्रबारबाट रिलिज भएका दुई फिल्म ‘नोभेम्बर रेन’ र ‘कबड्डी’ले पनि उत्साहजनक ओपनिङ गरेका छन् । पोखरामा विहिबारबाट रिलिज भएको फिल्म ‘कबड्डी’ले दुई दिनसम्म वाराहि सिनेमा घरको ९० प्रतिशत अकुपेन्सी कायम गरेको छ । यस्तै शुक्रबारबाट प्रदर्शनमा आएको ‘नोभेम्बर रेन’ हाउसफुलसहित प्रदर्शनमा आयो ।
‘काठमाण्डौ, पोखरा सहित देशव्यापी दर्शकहरुको साथ पाएको खबरहरु आईरहेका छन्,’ उत्साहजनक मुडमा 'नोभेम्बर रेन'का निर्माता समेत रहेका नायक आर्यन सिग्देलले भने,‘आगामी दिनमा पनि फिल्ममा लगानी गर्ने वातावरण बनेको छ ।’ नोभेम्बर रेन पछि आफुले निकै आशा र दु:ख गरेको फिल्म ‘नाईके’ भएको उनले सुनाए ।
‘शनिबार दर्शकको चाप अझै बढ्ने देखेर कबड्डीलाई दुईवटा हल र नोभेम्बर रेनलाई श्रीकृष्णको ठुलो हलमा प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ हल संचालक उत्तम द्वाले भने–‘यस्तै राम्रा नेपाली फिल्म बनिरहने हो र दर्शकले साथ दिने हो भने हामीलाई हिन्दी फिल्म देखाईरहनु पर्ने आवश्यकता छैन ।’ द्वाले शनिबार हिन्दी फिल्म ‘कान्छी’को शो रोकेर नेपाली फिल्म देखाउन लागेका हुन् ।
फिल्मी बजारका समिक्षकहरुले वर्ष २०७१ लाई नेपाली फिल्मका लागि सुखद वर्ष हुन सक्ने आँकलन समेत गरेका छन् । वर्ष ०७० मा भने नेपाली फिल्मको व्यापार घाटामा गएको थियो । यहि बिचमा फिल्मको व्यापार हुन नसकेको भन्दै पोखराको पुरानो पूर्णिमा चलचित्र घर बन्द समेत भएको थियो ।
वर्ष ७० मा नेपालमा करिब १ सयभन्दा बढि फिल्म बनेका थिए । एउटा नेपाली फिल्मको औसत वजेट ३० लाख मान्ने हो भने वर्षमा ३० करोडमाथि लगानी हुने गरेको छ । यद्यपी वर्ष ७० मा मुश्किलले ६ वटा फिल्मले मात्र लगानी उठाएका थिए ।

