Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौजन्यको मायामा भुतुक्कै भूपेन

फिल्मीखबर, काठमाण्डौ, 2014/04/25

‘भूपेन र म एउटै कलेजमा पढ्छौं । एउटै कलेजमा पढ्ने हामीमा प्रेम बस्छ,’ अनामनगरको एउटा क्याफेमा अभिनेत्री सौजन्य सुब्बाले अभिनेता भूपेन चन्द र आफुबिच पर्दामा भएको प्रेमको पोको फुकाइन् । सौजन्यले सम्झिएजति प्रेमका प्रसंगहरु कथालाई असर नपर्नेगरि खोलिन् ।

 

ऊप्रति मेरो प्रेम भएपनि म व्यक्त गर्न सक्दिन । मलाई लाग्छ उसले प्रेम प्रस्ताव राखिदिओस् । ऊ नजिक आयो कि मनमा एक खालको उमङ्ग आए जस्तो लाग्ने । कुनै युवतीसँग नजिक हुँदा डाहा हुने । मैले जस्तै भूपेनले पनि मलाई मन पराउँदो रहेछ । साथीको माध्यम बनाएर उसले मलाई प्रेमको प्रस्ताव राख्छ । तर म चाहन्छु कि ऊ नै अगाडी आएर मलाई प्रेम प्रस्ताव राखोस् । त्यसैले साथीलाई उसले पठाएको प्रेम प्रस्ताव अस्विकार गरें । र, उसको साथीलाई भनें, ‘प्रेम गर्न सक्नेले प्रेम प्रस्ताव पनि राख्न सक्नु पर्छ ।'

 

भूपेनले आफ्नो प्रेममा बहादुरी देखायो । मैले भने जस्तै गरी उसले मलाई प्रेमको प्रस्ताव राख्यो । लजाए जसरी मैले उसको प्रेमलाई सहर्ष स्विकार गरें । हाम्रो मनको लड्डु फुट्यो । भूपेन र म सबैले देख्ने गरी प्रेमी प्रेमिका भयौं । हाम्रो प्रेमको कलेज भरी चर्चा भयो । हाम्रो चर्चित जोडी माथि कसैको आँखा लाग्यो । त्यसपछि के भयो ? 'कथा सबै भने भने त फिल्म कस्ले हेर्ने ?', सौजन्यले भनिन् ।
 

यही वैशाख १९ गतेदेखि काठमाण्डौ तथा काठमाण्डौ बाहिरका हलबाट एकसाथ प्रदर्शनमा आउने मदन घिमिरे निर्देशित फिल्म ‘माया गर ल’ मा भूपेनसँगको प्रेमका प्रसंगहरु सुनाइ रहदा लाग्थ्यो सौजन्यले वास्तविक प्रेम कहानी सुनाउँदै छिन् ।

 

रियल लाइफमा नै सौजन्य र भूपेनबिच प्रेम रहेको फिल्मी बजारमा व्यापक छ । के तपाइँ भूपेनजीसँग साँच्चिकै प्रेममा हुनुहन्छ ? सौजन्यले भनिन्, ‘छु या छैन भन्ने कुरा तत्काल सार्वजनिक नगर्दै उचित होला । हरेक कुरा समय आएपछि बताउँदा राम्रो हुन्छ ।’

 

यद्पी सौजन्य आफु भूपेनको अभिनय कौशलको भने ‘फ्यान’ भएको बताइन् । भूपेनको तारिफ गर्दै सौजन्यले भनिन्, ‘ऊ अभिनयमा एकदमै नापतौल गर्ने मान्छे हो । स-साना कुराहरुमा पनि एकदमै ख्याल पुर्याएर काम गर्छ ।’

 

सौजन्य पनि गर्न सक्ने अभिनेत्री हुन् । टेलिफिल्म होस् या फिल्म सौजन्यले आफ्नो क्यारेक्टरलाई न्याय गर्ने प्रयास गरेकी हुन्छिन् । पात्रमा आफुलाई फिट राख्ने सौजन्य प्रेमको मामालामा चाहिं कत्तिको फिट छिन् त ? उनले ढुक्कका साथ भनिन्, ‘म प्रेममा आफ्नो ज्यान नै दिन तयार हुने मान्छे हुँ ।’

 

प्रेमको लागि मर्न तयार हुनेले किन आफ्नो प्रेमी चाहिं सार्वजनिक नगरेको त ? सौजन्य केही वौद्धिक भइन्, ‘कलाकारको जिन्दगी खुला किताब सरह हुन्छ । खुला किताबमा पनि धेरै विषयहरु लुकाइएका हुन्छन् । लुकाइएको मेरो प्रेम र प्रेमलाई उचित समय पारेर सार्वजनिक गर्छु ।’