म्यूजिक भिडियो मोडल एवं भिजे छुल्ठिम गुरुङ फिल्म ‘नोभेम्वर रेन’ मार्फत नेपाली फिल्मकी सदस्य भएकी छिन् । डल्ली नामको चञ्चले भूमिका निभाएकी छुल्ठिमको ‘नोभेम्वर रेन’ यही वैशाख १२ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ । ‘डल्ली’ छुल्ठिमको अपोजिटमा अभिनेता आर्यन सिग्देल छन् ।
‘नोभेम्वर रेन’ छुल्ठिमको पहिलो र अन्तिम फिल्म हुनेछ । फिल्म नखेल्नुको कारण बारे उनले समयलाई व्यवस्थापन गर्न भएको कठिन भएको बताईन् । उनले भनिन्, ‘म मिडियामा पनि आवद्ध छु । फिल्म र मिडिया दुवैलाई समय बढी चाहिन्छ । त्यसैले फिल्म छोडेर अब मिडियातिरै सक्रिय हुन्छु ।’
फिल्म खेल्ने रहरलाई पूरा गरिदिएकोमा ‘नोभेम्वर रेन’ का निर्माता सुवास गिरीलाई छुल्ठिमले धन्यवाद दिइन् । उनले भनिन्, ‘ठूलो पर्दामा अभिनय गर्न पाँच वर्षसम्म संघर्ष गरें । मेरो संघर्षलाई ‘नोभेम्वर रेन’ले पूरा गरिदिएको छ । विशेष गरी निर्माता सुवास गिरीप्रति कृतज्ञ छु ।’
छुल्ठिमले ‘नोभेम्वर रेन’को सुटिङ रमाइलोसँग सम्पन्न भएको अनुभव साटिन् । अभिनेत्री नम्रता श्रेष्ठसँग मुखामुख भएको भन्ने कुरो चाहिं के त ? छुल्ठिमले प्रष्ट्याइन्, ‘म कसैलाई पनि नराम्रो वचन गर्ने व्यक्ति होइन । म संस्कारमा हुर्किएकी छोरी हुँ । त्यसैले नम्रतासँग मुखामुख भयो भन्ने कुरा कहाँबाट बाहिरियो ? म आफैं अचम्ममा छु ।’
छुल्ठिमले फिल्म रिलिज गर्ने बेलामा वादविवादलाई ‘काउन्ट’ मै नल्याउन आग्रह गरिन् । छुल्ठिमले भनिन्, ‘जाँच दिंदा के थियो भन्ने होइन । जाँच कस्तो भयो भन्ने कुरा महत्वपूर्ण हो । हामी अहिले जाँचको फल पाउने बेलामा छौं, त्यसैले जाँच दिंदा के भयो भन्ने कुरा काउन्टमा नल्याउँदै राम्रो होला ।’
‘नोभेम्वर रेन’ युनिटसँग कुनै मनमुटाव नभएको उनले जिकिर गरिन् । त्यस्तै गायक पति धिरज राईसँगको सम्बन्धको बारेमा बोल्न छुल्ठिमले स्विकार गरिनन् । केही महिना अगाडी गायक राईले मिडियामा छुल्ठिमसँगको सम्बन्ध विच्छेद भएको भन्ने अभिव्यक्ति दिएका थिए । छुल्ठिमले यस बारे भनिन्, ‘म यस बारेमा बोलेर अरुलाई फाइदा होस् भन्न चाहन्न ।’

