मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`जिन्दगीले अभिनय सिकायो`: `रेड मनसून` अभिनेत्री

फिल्मीखबर, काठमाण्डौ, 2014/04/21

‘पहिलो फिल्म भएर होला अभिनेत्री भन्न आफैलाई अचम्म लाग्छ’ तपाईंको संक्षिप्त परिचय दिनुस् न भन्ने पहिलो प्रश्नको जवाफमा उनले आफुलाई थिएटर कलाकारको रुपमा परिचय गराइन् । उनी थिइन् आउँदो वैशाख २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘रेड मनसून’ की अभिनेत्री सृष्टि घिमिरे ।

 

प्रदर्शनमा आइसकेको नेपाली फिल्म ‘हाइवे’ मा छोटो भूमिका निभाएकी सृष्टि अर्थशास्त्रकी विद्यार्थी हुन् । सृष्टि हाल अमेरिकाको एक विश्व विद्यालयमा अर्थशास्त्रको चौधो वर्षमा अध्ययनरत छिन् । ‘एक सेमेस्टर अफ लिएर आएको । एक सेमेस्टर र समर जोड्दा आठ महिना जति बिदा हुँदो रहेछ । फिल्म रिलिजको बेला पर्यो । मलाई पनि राम्रो भयो, फिल्मलाई पनि राम्रो भयो’ आफु नेपाल रहनुको कारण बारे सृष्टिले बोलिन् ।

 

कक्षा चार पढदै गर्दा सृष्टि अभिनयतिर मोडिइन् । यति चाँडै कसरी ? प्रश्न गरियो । उनले सहज रुपमा उत्तर दिइन्, ‘अभिनय भनेको भावनामा बग्नु हो । मसँग भावनामा बग्ने क्षमता छ ।’ सृष्टिको भावना खुला छ । उनको स्वभाव चञ्चले छ । तर ‘रेड मनसून’ मा उनले आफू विपरित भूमिका निभाएकी छिन् । सृष्टिले सुनाइन्, ‘फिल्मको करुणा पात्रको व्यक्तित्व सुरुदेखि नै फरक छ । जीवनमा भोगेको कुराले गर्दा करुणा म भन्दा फरक छे ।’

 

नेपाली फिल्म क्षेत्रमा सृष्टको भर्खर जन्म भएको छ । भर्खर जन्मिएकी सृष्टिले नेपाली फिल्म क्षेत्रलाई भने बामे सर्दै गरेको बताइन् । ‘हाम्रो समाज र नेपाली फिल्म संक्रमणकालिन कालमा छ,’ सृष्टिले भनिन्, ‘तर यही अवस्थाले नेपाली फिल्मलाई नयाँ नयाँ विषयको जन्म दिएको छ ।’ अझ सशस्त्र द्धन्द्धपछि नेपाली फिल्मले नयाँ विषय पाएको सृष्टिको ठम्याइ छ ।

 

नयाँ जन्मिएका विषयवस्तुमा फिल्म खेल्न सृष्टि निकै उत्साहित छिन् । तर उनी पढाइलाई बिचमै छोडेर फिल्म खेल्ने पक्षमा भने छैनन् । भन्छिन्, ‘अझै समय छ । हेर्रौ जिन्दगीले कहाँ लान्छ ?’ सृष्टिलाई जिन्दगीले अभिनय सिकायो रे ! उनले सेक्सपियरको भनाइलाई सापटी लिइन्, ‘संसार एउटा रंगमञ्च हो । यो रंगमञ्चमा सबैजनाले अभिनय गरिरहेका छन् ।’ उनले थपिन्, ‘अभिनय पनि जिन्दगी जिउने एउटा वाहाना हो ।’

 

सृष्टिलाई लाग्छ नेपाली फिल्म क्षेत्रमा राजेश हमाल र रेखा थापा मात्रै ‘स्टार’ कलाकार हुन् । स्टार हुन सर्वाधिक दर्शकले चिन्नु पर्ने सृष्टिको तर्क छ । ‘थिएटरमा स्टार भन्दा पनि राम्रो कलाकार बन्ने भन्ने हुन्छ ।’ तपाईलाई ‘स्टार’ हुने चाह के छ ? भन्ने प्रश्नको जवाफमा सृष्टिले भनिन्, ‘चिन्नुको पछाडी धेरै कारण हुन्छन् । मलाई चिनाउने कारण के हो त ? तर म आफुलाई चिनाउने काम गर्छु ।’

 

जीवन भोगाईबाट नै अभिनय सिकिरहेकी सृष्टिले फिल्मको बारे पनि बोलिन्, 'रेड मनसून' काठमाण्डौ उपत्यकाको सामाजिक परिवेशमा हुर्किएको फिल्म हो । यस फिल्ममा नारीको संवेदनशीलता, समाजले नारी र युवाहरुलाई हेर्ने दृष्टिकोण, अनि यसमा रहेको कुसंस्कारलाई चिरेर निस्कन सक्ने नारीको शक्तिलाई प्रस्तुत गरिएको छ ।'