फिल्मीखबर डट कमले आफ्नो छैठौं बार्षिकोत्सवको अवसर पारेर आगामी जेठ २६ गते दोस्रो संस्करणको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७१'को आयोजना गर्ने घोषणा गरेको छ । ओफाको दोस्रो संस्करणमा विभिन्न १७ वटा विधामा ‘पपुलर’ अवार्ड प्रदान गरिनेछ ।

वर्षभरिमा प्रदर्शित फिल्म मध्येबाट उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई सम्मानित गर्ने उद्धेश्यले फिल्मीखबर डटकमले गत वर्षदेखि आयोजना गरेको ‘अनलाइन फिल्मीखबर अवार्ड’को दोस्रो संस्करणमा १७ बिधामा अवार्ड वितरण गरिनेछ । अघिल्लो साल १३ विधामा लोकप्रिय अवार्ड बाँडिएको थियो । यस्तै अप्रतिस्पर्धीको रूपमा क्रिटिक्स अवार्ड, प्रदर्शक अवार्ड र लाईफटाईम अचिभमेन्ट अवार्ड पनि दिईने भएको छ ।
अवार्ड गर्ने संस्थाका आ–आफ्नै उद्धेश्य र मापदण्डहरु हुन्छन् । ‘ओफा’ले भने लोकप्रियतालाई अवार्डको मापदण्ड बनाएको छ । यस हिसाबले ओफामा २०७० साल भरि प्रदर्शित फिल्मलाई लोकप्रियताका आधारमा अवार्ड प्रदान गरिने छ । लोकप्रियतासँगै फिल्मले उठाएको विषयवस्तु र त्यसको प्रस्तुति पनि अवार्डमा उत्कृष्टताको आधारको रुपमा समावेश रहनेछन् । सम्बन्धित विधामा दर्शकको एसएमएस तथा अनलाइन भोटिङलाई पनि निर्णय प्रक्रियामा समावेश गरिएको छ ।
गीतकार, गायक, गायिका र कस्ट्युम डिजाइनर यो साल थपिएका विधा हुन् । अघिल्लो सालका प्रतिस्पर्धी विधाहरु लोकप्रिय फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संगीत, छायांकन, सम्पादक, नृत्य निर्देशक, द्धन्द्ध निर्देशक, नव निर्देशक, नव नायक, नव नायिकाले यो सालपनि यथावत रुपमा निरन्तरता पाउनेछन् । मनोनयनमा परेका फिल्म र फिल्मकर्मीको नाम केही दिनमै औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिनेछ ।

