झन्डै २० वर्ष अघि झापाको सुरुंगामा एन्जल हल सन्चालन गरेर फिल्म प्रदर्शन र वितरणमा सक्रिय थिए, दिनेश पोख्रेल । नेपाली फिल्मको व्यापारमा सुस्तता छाएपश्चात दिनेश अष्ट्रेलिया हानिए । तर उनको मन भने फिल्म क्षेत्र तर्फ नै झुकिरह्यो ।

फिल्म क्षेत्र छाडेको करिब ८ वर्ष पछि दिनेशको सफल निर्माताको रुपमा नेपाली फिल्ममा रि-इन्ट्री भएको छ । फिल्म वितरण एवं प्रदर्शन गर्दा हलमा हुने भिड र फिल्मले गर्ने कलेक्सन आफुले निर्माण गरेको फिल्म 'नाईं नभन्नु ल २'मा देख्दा उनि निकै हर्षित बनेका छन् । निर्देशक विकास आचार्यसँगको सहकार्यमा निर्माण गरेको फिल्म 'नाईं नभन्नु ल २'ले पहिलो हप्तामै देशभर २ करोड माथिको ग्रस व्यापार गरे पछि फिल्म क्षेत्रमा निरन्तरता दिने सोचमा समेत दिनेश पुगेका छन् ।
अष्ट्रेलियामा फिल्मको ६ वटा शो गरेर नेपालमा फिल्मले पाएको सफलतालाइ नजिकबाट अनुभूत गर्न र दर्शक प्रतिक्रिया लिनको लागि छोटो समयको लागि भए पनि दिनेश यतिबेला नेपाल आएका छन् । नेपाल आउनासाथ फिल्म बारे प्रतिक्रिया लिन निर्देशक आचार्यसँगै उनी पूर्वका हलहरूमा पुगे । 'यो हाम्रो मात्र सफलता हैन, फिल्म क्षेत्रकै सफलता हो,' दिनेशले भने ।
फिल्मले रिलिजको पहिलो शनिबार गरेको व्यापार बराबर देशभरको कलेक्सन दोस्रो शनिबार पनि उस्तै पाएपछि निर्देशक आचार्य र निर्माता पोखरेल हर्षित देखिन्थे । फिल्मले पाएको सफलताले आगामी प्रोजेक्टमा अझै मेहनत गर्नुपर्ने चुनौती थपिएको विकासले बताए । नेपालमा पाएको सकारात्मक प्रतिक्रियाले फिल्मको डिमाण्ड बढेको दिनेशले जानकारी गराए ।

