एक समय नेपाली फिल्म वृत्तमा अभिनेता मुकेश ढकाललाई बलिउड अभिनेता इमरान हासमीनसँग दाँजेर चर्चा गर्ने गरिन्थ्यो । इमरानले जस्तै मुकेशले पनि पर्दामा हिरोइनसँग चुम्बनका दृश्य दिन्थे । नायिकासँगको चुम्बनकै कारण मुकेशको एक समय फिल्म वृत्तमा चर्चा हुने गर्दथ्यो ।
एक दर्जन बढी फिल्ममा अभिनय गरेका अभिनेता ढकाल बिचको दुई वर्ष भने फिल्म दुनियाँबाट हराए जस्तै भए । मुकेशका न फिल्म प्रदर्शनमा आए न उनले फिल्ममा नै अभिनय गर्ने अवसर पाए । किन त ? मुकेशको उत्तर छ, ‘नयाँ धारले हामीलाई पत्याएनन् ।’ उनले थपे, ‘नयाँ धार आएसँगै म पनि आफ्नै व्यवसायतिर व्यस्त भएँ । त्यसैले फिल्मको व्यस्तता घट्यो ।’
तर, उनले पुनः मूल धारको पालो आएको बताए । २ वर्ष फिल्मबाट हराउनुको कारण भने फर्निचर व्यावसाय सञ्चालनमा ल्याउनु रहेको मुकेश बताउँछन् । भन्छन्, ‘तर त्यो व्यवसायमा पनि नाफा भएन’ उनले थपे, ‘अब चाहिं व्यवसाय छोडेर फिल्मतिर सक्रिय हुने सोच छ ।’ केही सातापछि मुकेश ‘धुन’ नामक फिल्ममा व्यस्त हुँदैछन् ।
मुकेश अभिनित ‘माया गर ल’ फिल्म यही वैशाख १९ गते अल नेपाल प्रदर्शन हुँदैछ । जहाँ उनले कलेजको लभर व्यायको भूमिका निभाएका छन् । उनको अपोजिटमा ऋचा सिंह ठकुरी छिन् । साथमा सौजन्य सुब्बा र भूपेन चन्दको जोडीलाई पनि 'माया गर ल'मा देख्न सकिनेछ ।
मदन घिमिरेले निर्देशन गरेको यो फिल्मबाट दर्शकले पूर्ण मनोरञ्जन पाउने मुकेशको दाबी छ । 'हामी दर्शकलाई मनोरञ्जन दिन आउँदै छौं,' मुकेशले भने । फिल्मलाई निर्देशक घिमिरे र केशर बोगटीले निर्माण गरेका हुन् ।

