सुन्धारास्थित सिभिल टेड्र सेन्टर (सीटीसी) मा पाँचतारे स्तरको सुविधा भएको सिने-डी-सेफ फिल्म हल सञ्चालनमा आएको छ । हलको बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा अभिनेत्री निशा अधिकारीले उद्घाटन गरे ।
शुक्रबारदेखि दर्शकहरूका लागि शो खुला हुने सीटीसी मलको सातौं र आठौं तलामा दुई वटा हल छन् । आठौं तलामा १ सय ६९ सिट क्षमताको हल छ जसमा ४० सोफा छन् । यस हलमा फिल्म हेर्न कम्तीमा ४ सयदेखि ७ सय रुपैयाँसम्मको टिकट किन्नुपर्ने हुन्छ । सातौं तलामा रहेको सिनेडाइनमा ५८ मात्रै सोफा छन् । यहाँको टिकटदर भने ६ सयदेखि १५ सयसम्म तोकिएको छ ।
सिनेडायन र सिने थिएटरका बेग्लाबेग्लै लबी छन् । दुवै थिएटरमा दर्शकले ककटेल, मकटेल, कन्टिनेन्टल, थाई, चाइनिज, इन्डियन, नेपाली खान्की अर्डर गर्न सक्नेछन् । यी परिकारको छुट्टै शुल्क तिर्नुपर्छ । सिनेडायनमा राखिएका सोफालाई आफू अनुकूल १ सय ८० डिग्रीसम्म ढल्काउन मिल्ने हलका प्रबन्ध निर्देशक गौरव गोयलले बताए ।

