Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

वर्ष ०७१ का सबै बिदा `बुक्ड`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/18

वर्ष ०७१ सालमा पर्ने प्रायः सबै चाडपर्व तथा सार्वजनिक बिदा 'बुक' भएका छन् । फिल्म प्रदर्शनको लागि उचित मानिने तिज, दशैं, तिहार, माघे सक्रान्ती तथा आगामी नयाँ बर्षको मिति प्याक भएको रिपोर्ट छ ।


वैशाख तेस्रो सातामा दुई फिल्मबिच प्रतिस्पर्धा हुँदैछ । वैशाख १२ गते ‘नोभेम्वर रेन’ र ‘कवड्डी’ प्रदर्शन हुँदैछ । वैशाख १९ मा ‘वर्ल्ड कप इन नेपाल’ र ‘माया गर ल’ ले प्रदर्शनको मिति तोकेका छन् । वैशाख २६ गते ‘दमदार’, ‘माइ वेस्ट फ्रेन्ड’, ‘रेड मनसुन’ प्रदर्शन हुँदैछ भने जेठ २ मा ‘आवरण’ सोलो प्रदर्शनको तयारीमा छ । इनिसियल हिटको अपेक्षा गरिएका फिल्म दुई फिल्म ‘हँसिया’ जेठ ९ र ‘मुखौटा’ जेठ १६ मा प्रदर्शन हुनेछन् । जेठ ३० को डेट भने ‘पुन्टे परेड’ले लिएको छ ।


खेतीपाती र वर्षातको महिना भएकाले असारमा बिग ब्यानरका फिल्म प्रायः प्रदर्शन हुँदैनन् । तथापी असार असार २७ गते गोविन्द राईको 'नागबेली' फिल्म प्रदर्शन हुनेछ । यता बलिउडका ठूला फिल्म रिलिजको एक साता अघि ठूलो बजेटको नेपाली फिल्म 'सेफ ल्याण्डिङ' आउने तयारीमा छ । साउन २ गते फिल्म रिलिज गर्न निर्माण युनिट अन्तिम तयारीमा जुटेको छ ।

 

प्रदर्शनको लागि उचित मिति मानिने साउन महिनाको अन्तिम शुक्रबार भने 'कहाँ भेटिएला' जोडीको फिल्म 'कोहिनुर' प्रदर्शन हुनेछ । 'कोहिनुर'पछि भदौ महिनामा 'यो कथा हो तिम्रो मेरो', 'जिन्दावाद', 'बिर्खेलाई चिन्छस्' जस्ता फिल्म प्रदर्शनको तयारीमा छन् । गत बर्षको तीजमा 'बडीगार्ड' रिलिज गरेका निर्माता सुशिल पोखरेलले यसपटक पनि तीजमा नै आफ्नै व्यानरको फिल्म 'लभ सब' रिलिज गर्ने तयारीमा छन् ।
 

सोह्र श्राद्धमा फिल्म नचल्ने भएकाले ठूला ब्यानरका फिल्म असोजमा रिलिज गर्न हच्किएका छन् । गत वर्षको फूलपातीमा 'काली' चलाएकी रेखा थापाले ०७१ सालको फूलपाती पनि क्याप्चर गरेकी छिन् । रेखाको अभिनय, निर्माण एवं निर्देशन रहेको 'हिम्मतवाली' यो वर्षको दशैंमा प्रदर्शन हुनेछ । दशैं र तिहारको बिचमा पर्ने शुक्रबार ठूला ब्यानरका फिल्म रिलिज हुने सम्भावना देखिएको छैन ।

 

गत वर्ष जस्तै निर्माता छवि ओझा यो वर्षको फूलपातीबाट पनि विस्थापित भएका छन् । मंसिरमा 'लोफर' लगाएका छविले 'लज्जा'लाई तिहारमा लगाउँदैछन् । धान झार्ने मंसिरमा बिग ब्यानरका फिल्म नआउने सम्भावना देखिन्छ ।

 

यस्तै माघे सक्रान्तीको अवसर पारेर 'एक्सिडेन्ट' नामक फिल्म रिलिज हुने पक्का भएको छ ।  फागुनमा छायाँकनरत फिल्म 'अधकट्टी' फिल्म प्रदर्शन हुनेछ भने छायाँकनै प्रारम्भ नभएको छवि ओझाको अर्को फिल्म 'हवाल्दार सुन्तली' ०७२ सालको आगमनमा प्रदर्शन हुनेछ । 

 

फिल्म वितरण कम्पनी एफडीले सार्वजनिक बिदा परेका अधिकांश मिति बुक भईसकेको जानकारी गराएको छ । यो बाहेक अन्य वितरकले आ-आफ्नो तर्फबाट चाडपर्वमा फिल्म रिलिज गर्ने तयारी गर्दैछन् । गत बर्ष झैं यो बर्ष पनि फिल्म जुध्ने सम्भावना ज्यादै नै देखिएको छ । किनकी माथी उल्लेखित बाहेक पनि दर्जनौं आश गरिएका फिल्म प्रदर्शनको तयारीमा छन् ।