चितवनको नारायणगढमा अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न 'सिम्याक्स सिनेमा' नामक हलको उद्घाटन भएको छ । वरिष्ठ अभिनेता शिव श्रेष्ठ, नायिका निशा अधिकारी र निर्माता तथा निर्देशक अशोक शर्माले बुधबार संयुक्त रुपमा उक्त हलको उद्घाटन गरे ।
उद्घाटन पछि आमन्त्रित अतिथिहरु माझ फिल्म प्रदर्शन गरिएको थियो । सर्वसाधारणका लागि चाडै नै फिल्म प्रदर्शन गरिने छ । स्थानीय केएल मलको छैठौं तल्लामा रहेको पूर्ण एयर कण्डिशन 'सिम्याक्स सिनेमा' हलमा १६० वटा आरामदायी फराकिला सीटहरु छन् । डिजिटल प्रोजेक्टर र डल्वी साउण्ड सिस्टमको माध्यमबाट नयाँ-नयाँ फिल्म प्रदर्शन गर्ने उद्देश्यले उक्त हल खोलिएको हो ।
दर्शकहरुको थप सुविधाका लागि फोनबाट अग्रिम टिकट बुकिङ्गको व्यवस्था पनि राखिएको छ । यस प्रकारको सर्वसुलभ सुविधा राजधानी लगायत केही हलहरुमा मात्र उपलब्ध छ । अन्तर्राष्ट्रियस्तरको सुविधाहरु भईकन पनि 'सिम्याक्स सिनेमा'मा सुपथ एवं न्यूनतम मूल्यमा टिकट किन्न पाइनेछ ।

