नेपाल चलचित्र कलाकार संघले बरिष्ठ फिल्मकर्मी रमेश बुढाथोकीलाई सम्मान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संघको कार्यसमिती बैठकले संघकै पूर्व अध्यक्ष बुढाथोकीलाई नगद रू ५१ हजार १ रुपैयाँले सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले बर्ष २०७१ को चलचित्र कलाकार संघ पुरस्कार बुढाथोकीलाई दिने निर्णय गर्दै बरिष्ठ कलाकार भीमबहादुर थापालाई १५ हजार १ राशिको शान्ति मास्के पुरस्कार दिईने निर्णय पनि गरेको छ । बर्ष ०७१ को चलचित्र पत्रकारिता सम्मानबाट पत्रकार बिजय आवाज सम्मानित हुने भएका छन् भने विशेष सम्मान डा. प्रदीप भट्टराई र चन्द्र तामाङलाई प्रदान गरिने भएको छ ।
चलचित्र कलाकार संघ सेवा सम्मानबाट कलाकारत्रय सानुकुमार ताम्राकार, बिजय देउजा र रवि गिरीलाई प्रदान गरिने छ । नव प्रतिभा सम्मान हिरोइन रिमा विश्वकर्मालाई दिईने बताईएको छ । भदौ २३ गते चलचित्र कलाकार दिवसका दिन घोषणा गरिएका सम्मान र पुरस्कार प्रदान गरिने भएको छ ।

