Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(504 votes, avg 4.95/5.00)
Text size:-
+
-

एक दिने कलेक्सनमा `नाईं नभन्नु ल २`को रेकर्ड

अर्पण ढकाल, धरान, 2014/04/15

नेपाली फिल्म उद्योगलाई २०७० साल खासै राम्रो बन्न नसके पनि सत्तरी सालको बिदाई र २०७१ सालको सुरुवात भने सुखद भएको छ । गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म 'नाइँ नभन्नु ल २'ले देशभरकै सिनेमा घरमा धेरै वर्ष पछि रेकर्ड कायम गर्ने व्यापार गरे पछि नयाँ वर्षमा नेपाली फिल्मको लागि शुभ संकेत देखिएको छ ।

 

रिलिज भएको दिनदेखि नै आक्रमक व्यापार गरिरहेको फिल्मले वर्षको पहिलो दिनमा भने देशभरमै सर्वाधिक सिंगल डे कलेक्सन गर्न सफल भएको छ । वितरक र हल संचालकले दिएको जानकारी अनुसार हिजो फिल्मको देशभरको कलेक्सन ७० लाखको हाराहारीमा रहेको छ । फिल्मले पूर्वका हलमा समेत उत्साहजनक कलेक्सन गरेको छ ।

 

पूर्वान्चल वितरक चैतन्य बरालले धेरै वर्ष पछि कुनै नेपाली फिल्मले यतिको व्यापार गरेको बताए । दमकस्थित पाथीभरा हलका म्यानेजर समेत रहेका बरालले हलमा दर्शकको भिड सम्हाल्न गार्हो भएको बताउँदै ५ ओटा हल हाउसफुल हुने दर्शक बाहिर रहेको जानकरी गराए । २ शो मात्रै चल्ने आफ्नो हलमा नयाँ बर्षको दिनमा ४ शो पनि हाउसफुल भएको खबर बरालले दिए । फिल्म सुरु हुनु भन्दा २ घण्टा अगाडीदेखि नै हलमा दर्शकको भिड जम्मा भएको थियो सुनाउँदै टिकट नपाएर फर्केका दर्शक निकै आक्रोषित भएको उनले बताए ।


 

धरान स्थित गणेश टाकिजमा टिकट ब्ल्याकमा बेच्दै गरेका रबिन राईले हिजो एकै दिनमा ५००० कमाएको बताए । धेरै पहिले ब्ल्याकमा टिकट बेच्ने गरेका उनले यस्तो दर्शकको भिड लामो अन्तरलमा देखेको बताए । नेपाली फिल्मको नाइट शो बिरलै मात्रै चल्ने धरानको गणेश टाकिजमा रात्री शो समेत हाउसफुल भएको थियो भने दमक स्थित पाथीभरा हलमा समेत धेरै पछि सुरुको दिनबाटै फिल्मको नाइट शो चलिरहेको छ ।

 

नेपाली फिल्म चल्ने छाडेका र टिकट दर कम रहेका झुम्का, विराटचोक, पथरी लगायतका दोस्रो च्यानलको हलमा समेत फिल्मको व्यापार पचास हजार माथि रहेको बरालले बताए । नेपाली फिल्म थोरै मात्रै रिलिज हुने बिराटनगरको हिमालयन हल समेत नयाँ बर्षको दिनमा हाउसफुल रह्यो । फिल्मको माउथ पब्लिसिटी उत्साहप्रद भएकोले व्यापारको यो गति अझै बढ्ने विश्वास हल संचालक एवं वितरकले दिएका छन् ।

 

 

यता नेपालगञ्जको बागेश्वरी हल खुलेदेखिको अहिलेसम्मकै उच्च कलेक्सन भएको जानकारी प्राप्त भएको छ । फिल्मीखबरका नेपालगञ्ज संवाददाता विष्णु शाहीका अनुसार २०४६ सालमा खुलेको उक्त हलमा लागेको 'नाईं नभन्नु ल २'ले हिजो नयाँ बर्षको दिनमा रू एक लाख ७० हजारको कलेक्सन गरेको छ ।

 

हल नचलेर दैनिक खर्च धन्न मुस्किल परिरहेको बेला 'नाइँ नभन्नु ल २'को व्यापारले राहत प्रदान गरेको गणेश टाकिजका म्यानेजर भोलामान श्रेष्ठले बताए । सफा र राम्रो पारिवारिक फिल्म बनाए नेपाली फिल्म हेर्ने दर्शक अझै रहेको यो फिल्मले पुस्टि गरेको उनको कथन थियो ।