कुनै बेला नेपथ्य समूहका गायक अमृत गुरुङले भनेका थिए- 'कलाकार धनी हुन देश धनी हुनुपर्छ ।' उनको भनाइको गहिराई बुझ्ने हो भने वास्तवमै नेपाली धनी हुन देशको खेल, कला, फिल्म क्षेत्र धनी हुनुपर्ने रहेछ । देशको कला क्षेत्रको एउटा पाटो नेपाली फिल्म आजकल धरासायी अवस्थामा पुगेको समाचार लगातार रुपमा सुनिन थालेको छ । नेपाली फिल्म क्षेत्रको भविष्यको बारेमा पछिल्लो समयमा देखा परेका चिन्तामा एउटा दर्शकको नाताले गहिरो सरोकार राख्ने गर्दछु ।
कुनै समय म नेपाली फिल्मको नियमित दर्शक थिएँ । बर्दियाको प्रचण्ड गर्मीमा पसिनाले नित्रुक्क भिजेर काठको बेञ्च र त्यो नपाए चकटीमा बसेरै भएपनि मैले दर्जनौं नेपाली फिल्म हेरेको छु । नयाँ फिल्म हलमा लागेको थाहा भएपछि २ घण्टाको बाटो कैंची साइकल चलाएर फिल्म हेर्न पनि गइयो । देउता, पृथ्वी जस्ता फिल्ममा राजेश हमालले बोलेको संवाद अर्को दिन बिद्यालयमा सुनाउनुको मज्जा नै बेग्लै थियो ।
समयसँगै म भित्रको चेतनामा परिबर्तन आयो । मेरो मन भित्रको चाहनाले देउता, पृथ्वी जस्ता फिल्म भन्दा फरक धारको फिल्मको खोजी गर्न थाल्यो । म भित्रको फरक धारको फिल्म हेर्ने चाहनालाई पूरा गर्न मैले धेरै फिल्महरू हेरें । दर्पण छायाँ, बसन्ती, तँ त सार्है बिग्रिस् नि बद्रीले मेरो चाहनालाई केहि हदसम्म पूरा गरे । समयको व्यस्ततालाई चिर्दै फिल्म हेर्ने चाहनालाई रोकिन तर मन विस्तारै खिन्न हुँदै गयो । नेपाली कला र फिल्मको माया हुँदाहुँदै पनि हल भित्र नछिरेको बर्षौं भएछ । सबैले प्रशंशा गरेको लुट हेर्दा केहि परिवर्तनको आभास भयो । पछिल्लोसमय फिल्मको प्रोमो, गीतसंगीत हेर्दा र फिल्मका बारेमा समाचार पढ्दा यो क्षेत्र उभों हैन उधों झर्दै छ भन्ने सुन्दा सार्है दु:ख लाग्छ ।
यहि चिन्ताको बिचमा मैले एकजना युवा नेपाली निर्देशक नबिन अवालको छोटो फिल्म 'एक प्रतिशत' (1 Present) युट्यूबमा हेर्ने मौका पाएँ । 'एक प्रतिशत'ले म भित्रको नेपाली फिल्म हेर्ने मोहलाई फेरी एकपटक जगाउने प्रयास गरेको छ । सिमित स्रोत र साधनको प्रयोग गरेर नविनले नेपाली फिल्म क्षेत्रमा भित्राउन खोजेको नयाँ पनलाई प्रोत्सान दिन सकियो भने हामीले विश्वमा आफ्नो चिनारी पाउन सक्छौं भन्ने लागेको छ । नेपाली फिल्म क्षेत्र परिवर्तनको संघारमा रहेका बेला यस्ता युवानिर्देशकलाई प्रोत्साहन दिईएमा प्रगतीको बाटो धेरै लामो नरहेको मेरो धारणा छ ।
एड्सलाई विषयबस्तु बनाएर निर्माण गरिएको फिल्म भएता पनि फिल्म 'एक प्रतिशत'ले मनोबिज्ञानको एउटा धारलाई समातेको छ । डरको रसायनिक र मनोबैज्ञानिक पक्ष मध्ये मनोबैज्ञानिक पक्षलाई यो फिल्मले निकै राम्ररी समातेको देखिन्छ । द्वन्दको स्वरूपहरू मध्ये अन्तर मानविय द्वन्दलाई देखाउन निर्देशक सफल भएका छन् । स्यामी पात्रमा देखिएका कलाकारको अनुहारमा देखिएको तनाब निकै अर्थपूर्ण देखिन्छ । उनको शारिरिक हाउभाउले उनीभित्रको तनाबलाई बाहिरी जगतमा जोडेको देखिन्छ जुन एउटा मनोविज्ञले परामर्स कक्षमा मात्र अबलोकन गर्ने मौका पाउँछ । फिल्ममा कमजोरी पक्ष पनि नभएका होइनन् , तरपनि समग्रमा डरको मनोबिज्ञानको कक्षामा उदाहरणको रूपमा प्रस्तुत गर्नमिल्ने फिल्म बनेको छ, एक प्रतिशत ।
फेरी प्रसङ्ग फिल्म क्षेत्रको विकासमा नै जोड्न चाहन्छु । नेपाली फिल्म क्षेत्र यतिबेला पूर्ण ताजकीको खोजिमा रहेको छ । त्यो ताजकी यस क्षेत्रका पुराना बिज्ञ र नविन सोच सहित आएका नयाँ पुस्ताको सामुहिक प्रयासबाट मात्र सम्भव छ । हिन्दि फिल्मले २ करोडको आम्दानी गर्न सक्ने नेपाली बजार सानो होइन । अझै पनि म जस्ता हजारौं दर्शक नेपाली फिल्म हेर्न आतुर छन् । सम्बन्धित पक्षले यि हजारौं फिल्मप्रेमीलाई सम्बोधन गर्ने फिल्म निर्माण गरेका यो क्षेत्रको भविश्य उज्जवल छ । हैनभने मिडियाले पुन: लेख्ने छ, अर्को नेपाली फिल्म सुपर फ्लप । हामी दर्शक सधैं निराश ।
(क्लिनिकल मनोबिज्ञानमा बिध्याबारिधी गरेका लेखक विजय ज्ञवाली हाल जापानमा कार्यरत छन् ।)

